राप्रपालाई नियोजित ढंगले पराजित गरिएको दाबी



 

नेपाल समाचारपत्र
हेटौंडा
स्थानीय निकायको पहिलो चरण निर्वाचनमा अपेक्षाकृत नतिजा निकाल्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई नियोजित ढंगले पराजित गर्ने काम भइरहेको दाबी गरेका छन्।
राप्रपा मकवानपुरले मंगलबार गृहनगर हेटौंडामा गरेको जिल्ला कार्यकर्ता भेलामा अध्यक्ष थापाले राप्रपा कमजोर हुँदा देशको स्वाधीनता र हिन्दुत्व कमजोर हुने भन्दै राष्ट्रियता, प्रजातन्त्र र हिन्दुत्वका लागि राप्रपा बलियो हुनु जरुरी रहेको दाबी गरे।

स्वदेशी शक्ति र विदेशी एजन्ट नियोजित ढंगबाट राप्रपालाई हराउने काममा सक्रिय रहेको उनले बताए। अध्यक्ष थापाले निश्चित दल, व्यापारी, बुद्धिजीवी र विदेशी एजेन्टले राप्रपामाथि निरन्तर प्रहार गरिरहेको दाबी गरे।

‘राप्रपा श्रीखण्डको बिरुवा हो, यसलाई हुर्काउन गाह्रो हुन्छ,’ भन्दै उनले त्यसैले हरेश नखाएर मेहनत गर्न कार्यकर्तासंग आग्रह गरे। आफूहरू स्वाधीनता र निष्ठाको लडाइँमा रहेको भन्दै थापाले भने– ‘उच्च मनोवलसाथ अगाडि बढौं, गन्तव्यमा पुगिन्छ।’ उनले पार्टीसंग जनमत भए पनि त्यसलाई भोटका रूपमा रुपान्तरण गर्नु पहिलो चुनौती देखिएको बताए। जस्तोसुकै राजनीतिक व्यवस्था आए पनि राष्ट्रवादको सिद्धान्त कहिल्यै नमर्ने उनले टिप्पणी गरे।

उनले योजनावद्ध ढंगबाट नेतृत्व र पार्टीको चरित्र हत्या गर्ने काम भएको भन्दै यसबारे जनतालाई बुझाउन कार्यकर्तासंग आग्रह गरे। उनले राप्रपा बलियो भए हिन्दूराष्ट्र र राजतन्त्रको अभियान सफल हुने भएकाले नियोजित ढंगबाट राप्रपालाई कमजोर बनाउने काम भएको बताए।

उनले पहिलो चरणको निर्वाचनमा राप्रपाले अप्रत्यासित नतिजा व्यहोर्नु परे पनि दोस्रो र तेस्रो चरणमा सुधार हुने विश्वास व्यक्त गरे। उनले निर्वाचनमा पराजित भए पनि आफ्नो एजेन्डा नहारेको भन्दै चन्द्रसूर्य रहुञ्जेल हिन्दूराष्ट्रको एजन्डा बोकिरहने बताए। उनले आफूले अहिले पनि नहारेको भन्दै अभियान टुंगोमा पुर्याउने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्