टेलिकमको बस इन्टरनेट सेवा



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा बसलगायतका सार्वजनिक सवारी साधनमा एनटी बस इन्टरनेट सेवा शुरूभएको भएको छ। मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुले इन्टरनेट सेवा सहज रूपले प्रयोग गर्न सकुन भन्ने उद्देश्यले टेलिकम र साइबरनेटिक्स प्रालिकाबीच एनटी बस इन्टरनेट सञ्चालन सम्बन्धमा केही दिन अघि सम्झौता सम्पन्न भएको थियो। सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय र साइबरनेटिक्स प्रालिको तर्फबाट अध्यक्ष जेम्स न्याछ्योले हस्ताक्षर गर्नुभएको थियो।

एनटी बस इन्टरनेट सेवा सञ्चालनको शुभारम्भ कार्यक्रममा कम्पनीका कर्पोरेट तथा व्यावसायिक रणनीति विभागका प्रबन्धक प्रतिभा वैद्यले यस सहकार्यबाट लामो तथा छोटो दूरीका बस यात्रुले यात्राका क्रममा वाईफाईमार्फत् निःशुल्क इन्टरनेट, भिडिओलगायत मल्टिमिडिया सेवा उपभोग गर्न सक्ने बताउनुभयो।
उक्त अवसरमा साइबरनेटिक्स प्रालिका अध्यक्ष जेम्स न्याछ्योले एनटी बस इन्टरनेट सेवा सम्बन्धी विस्तृत जानकारी गराउनु भएको थियो। एनटी बस इन्टरनेट सेवा मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा प्रयोग गर्न सकिने छ। यो डब्लुसीडीएमए वा सीडीएमए प्रविधिबाट सञ्चालन हुने भएकाले टेलिकमको सीडीएमए नेटवर्क भएको जुनसुकै ठाउँमा पनि यो सेवा लिन सकिन्छ। यसका लागि बस कम्पनीहरूले साइवरनेटिक्स प्रालिसँग सम्पर्क गरी सो सुविधा प्राप्त गर्नुपर्छ। एनटी बस इन्टरनेट सेवाबाट कुनै पनि सवारी साधनजस्तै बस, माइक्रोबस, कार आदिमा यात्रा गर्दा सरल र सुलभ तरिकाले इन्टरनेट चलाउन सकिन्छ। एनटी बस इन्टरनेट सेवाबाट यात्रुले आफ्नो स्मार्टफोन, ल्यापटप, ट्याबलेट आदिमा वाईफाई कनेक्ट गरी इन्टरनेट चलाउन सकिनेछ। एनटी बस इन्टरनेट डिभाइसको आफ्नै इन्टरनल स्टोरेज हुने भएकाले अफलाइनमा पनि फिल्म, भिडियो, गीतहरू सुन्न र हेर्नुको साथसाथै गेम एवम् एप्स पनि निःशुल्क डाउनलोड गर्न सकिन्छ। साथै आफ्नो सवारी साधन कहाँ छ, सोको जानकारी जीपीएस प्रविधिमार्फत् कुनै पनि क्षण कार्यालयबाट नै पत्ता लगाउन सकिनेछ। सेवा शुरू गर्ने सवारी साधनलाई एकपटकको लागि निःशुल्क रिम कार्डसहित १० जीबी डाटा टेलिकमले उपलब्ध गराउने छ।

प्रतिक्रिया दिनुहोस्