लन्डन, (एजेन्सी)
ब्राजिलका अन्तर्राष्ट्रिय डिफेन्ड एलेक्स सान्ड्रो सबैभन्दा महँगो डिफेन्डर बन्न तयारीमा रहेका छन्। चेल्सीले ६ करोड १० लाख पाउन्डमा क्लबमा भित्त्याउन तरखरमा लागेपछि सान्ड्रो अहिलेसम्मकै महँगो डिफेन्डर बन्न लागेका हुन्।
यसअघि डिफेन्डरको इतिहासमा भने सबैभन्दा बढी रकम डेविड लुइजलाई तिरिएको थियो। सन् २०१४ मा पेरिस सेन्ट जेर्मेनले चेल्सीबाट लुइजलाई ५ करोड तिरेर किनेको थियो। उनी सन् २०१६ मा फेरी पुरानै क्लबमा फर्केका थिए।
युभेन्टसबाट एलेक्सलाई चेल्सीले प्रिमियर लिगमा ल्याउन नजिक पनि पुगिसकेको क्लबले जनाएको छ। यो चेल्सीको सबैभन्दा महँगो रकम पनि हो। यसअघि चेल्सीले फर्नान्डो टोरेसलाई सन् २०११ मा ५ करोड पाउन्ड तिरेको थियो।
सान्ड्रोले युभेन्टसलाई चेल्सीका लागि इटालियन क्लब छोड्ने बताएका थिए। तर, युभेन्टसका प्रमुख कार्यकारी बेप्पे मारोटाले चेल्सीको शुरूआती रकम ५ करोड ५२ लाख पाउन्डलाई अस्वीकार गरेका थिए। मारोटाले यदि रकम सही हो भने खेलाडीको बीचमा कुनै अड्चन नगर्ने बताएका थिए। जबकि युभेन्टसले सान्ड्रोलाई २ वर्ष अगाडि पोर्टोबाट केवल २ करोड ३० लाख पाउन्डमा किनेको थियो। अहिलेको चेल्सीको रकमबाट उनीहरूले ज्यादै नाफा कमाउने भएका छन्। सन् २०११ मा सान्तोसबाट पोर्टोमा जाँदा उनलाई ८० लाख पाउन्ड तिरिएको थियो।