नेपाल स्ट्रोमद्वारा इन्डियन स्टार्स पराजित



 

काठमाडौं, (नेस)
कीर्तिपुरको त्रिवि मैदानमा जारी एसियन क्लब प्रिमियर लिग (एसीपीएल) क्रिकेटमा नेपाल स्ट्रोमले अर्को जित हात पारेको छ।

सोमबार भएको खेलमा नेपाल स्ट्रोमले इन्डियन्स स्टार्सलाई ४ विकेटले हराएको हो। यो घरेलु टोलीको लगातार तेस्रो जित थियो। नेपाली टोलीको जितमा सातौं नम्बरमा ब्याटिङ गर्न आएका जितेन्दर शर्मा नायक बने। उनले आक्रमक ब्याटिङ गरेर अर्धशतक बनाएपछि नेपालको जित सम्भव भएको थियो। यो जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेर अंक तालिकामा शीर्ष स्थानमा रह्यो।
इन्डियन स्टार्सले दिएको १ सय ७३ रनको लक्ष्य जितेन्दरले नटआउट रहेर ५७ रन बनाएपछि नेपाल स्टोर्मले १६.२ ओभरमा भेटाएको थियो। योसँगै इन्डियन स्टार्सले प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेर अंकविहीन बनेको छ। प्रतियोगितामा अहिलेसम्म अंक नजोड्नेमा इन्डियन स्टार्स एक मात्र टोली हो।
म्यान अफ द म्याच जितेन्दरले २४ बलमा ५७ रन बनाएका थिए। त्यस्तै सातौं विकेटका लागि ५५ रनको साझेदारी हुँदा जितेन्दरलाई साथ दिएका अमरसिंह राउतेलाले १० बलमा २१ रन जोडे। यसै गरी परेस लोहनीले २६ रन, विनित ध्यानीले २४ रन बनाएका थिए। विपक्षी टोलीका बलरमा सचिन कुमार र अमनदीप सिंहले २⁄२ विकेट लिएका थिए।

यसअघि टस हारेर ब्याटिङ गरेको इन्डियन स्टार्सले निर्धारित २० ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ७२ रन बनाएको थियो। ए करणवालले ४१ बलको सामना गरी टोलीका लागि सर्वाधिक ५९ रन बनाए। करणवाल र स्वप्निल पाटिलले पहिलो विकेटका लागि ९१ रनको बलियो साझेदारी गरेका थिए। स्वप्निलले ३३ रनको योगदान दिएका थिए। नेपाल स्ट्रोमका लागि गौरव बारबाडेले २ विकेट लिँदा अमरसिंहले १ विकेट हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस्