नोबेल पुरस्कार विजयी चिनियाँ लिउ क्यान्सर पीडित



 

बेइजिङ, (एजेन्सी)
बन्दी जीवन बिताउँदै आएका शान्तिका लागि नोबेल पुरस्कार विजेता चिनियाँ लिउ सियाओबोलाई खतरनाक कलेजो क्यान्सर भएको पाइएपछि कारगार अस्पतालमा सारिएको सोमबार सरकारी सूत्रले जनाएको छ।

बृहत् प्रजातन्त्रको आह्वान गरेको अभियोगमा मानव अधिकारवादी अभियन्ता लिउलाई सन् २००९ मा कारवास सजाय सुनाइएको थियो। उनका वकिलले एक महिनाअघि क्यान्सर रोगको पहिचान भएपछि उनको उत्तरी लियाओनिङ प्रान्तको सेन याङस्थित एउटा अस्पतालमा उपचार भइरहेको बताएका छन्।

सन् २०१० मा लिउलाई शान्तिका लागि नोबेल पुरस्कार दिने घोषणा भएयता उनकी पत्नी लिउ सियालाई नजरबन्दी बनाइएको थियो। तर उनीविरुद्ध कुनै पनि औपचारिक अभियोग लगाइएको छैन। सन् १९८९ मा तियानमेन चोकमा प्रजातन्त्रको माग गर्दै चिनियाँ विद्यार्थीहरूद्वारा भएको आन्दालनको नेतृत्व गर्ने प्रमुख नेताहरूमध्ये ६१ वर्षीय लिउ सियाओबो पनि एक थिए।

चीन सरकारले अहिलेसम्म उनकी पत्नीमाथि किन हिँडडुल गर्ने प्रतिबन्ध लगाइयो भन्नेबारे स्पष्ट पारेको छैन। उनका वकिल मो साओपिङले २३ मे मा उनलाई क्यान्सर भएको पत्तालागेको कुरा दि साउथ चाइना मर्निङ पोष्टलाई जानकारी दिएका छन्।

क्यान्सर रोगी भएको थाहा पाइएपछि उनलाई कारगार मुक्त गरिएको थियो। लिउमाथिको कुनै पनि खबरमा कडा सेन्सर गरिने भएकाले उनको रोगको खबर ढिलो सार्वजनिक भएको अनुमान गरिएको छ। उनलाई अस्पतालमा राखिए पनि उनका परिवार र साथीभाइहरूले उनीलाई सजिलैसँग भेट्न पाउने कुनै ग्यारेन्टी नरहेको बताइएको छ।

चीन सरकारले उनलाई नोबेल पुरस्कार थाप्नबाट पनि वञ्चित गरेको थियो। यसैकारण चीनसँगको नर्वेको कूटनीतिक सम्बन्ध चिसिन पुगेको थियो। गत डिसेम्बरमा मात्र सो सम्बन्धमा सुधार आएको थियो। चीन सरकारले अपराधीको दर्जा दिँदै आएका उनलाई उक्त सम्मानित पुरस्कार दिने घोषणा गरिएपछि चीन निकै आक्रोसित भएको थियो।

प्रतिक्रिया दिनुहोस्