धनपतिका कुरा, सुरक्षा उडाउँथिन् नेपाली फिल्मलाई आमिर अवार्ड लिँदैनन् भन्ने थाहा थिएन खगेन्द्रलाई ?



 

विदुर गिरी
पशुपतिप्रसादको सफलतापछि त्यही टिमले बनाएको धनपतिको रिलिज नजिकिँदै जाँदा यसका प्रमुख कलाकार खगेन्द्र लामिछाने र सुरक्षा पन्तका साथमा निर्देशक दीपेन्द्र के खनाल सोमबार एकै ठाउँमा भेटिए। पत्रकारहरूसँगको भेटघाटको चाँजोपाँजो पनि उनीहरूले नै मिलाएका थिए। जहाँ उनीहरू धनपतिसँगै अन्य विषयमा पनि खुल्दै थिए।

‘कुनै बेला मलाई नेपाली फिल्म क्षेत्र भनेकै मन पर्दैन थियो। नेपाली फिल्मलाई लिएर धेरै क्रिटिसाइज गर्थें, उडाउँथे। आजचाहिँ म यही फिल्डमा छु, आफैंलाई अनौठो लाग्छ’, पेसाले सिभिल इन्जिनियर रहेकी सुरक्षा गफिँदै थिइन्– ‘अहिले नेपाली फिल्मलाई लिएर अरूले क्रिटिसाइज गर्दा दुःख त लाग्छ। तर केही कुरा सही हो भन्ने पनि लाग्छ। अहिले यो फिल्डमा आफैं आएपछि यसबारे धेरै भित्री कुरा बुझेकी छु। यहाँभित्र के कस्ता समस्या छन् भन्ने देखेकी छु। अहिले यो फिल्डमा धेरै परिवर्तन र विकास भइसकेका छन्। तर क्रिटिसाइज गर्ने ठाउँ नै नभएको भन्नेचाहिँ होइन।’ सुरक्षा भन्दै थिइन्– ‘आफैं यो फिल्डमा आएपछि चाहिँ कलाकारिता नै सबैभन्दा आनन्दको क्षेत्र हो भन्ने लागेको छ। तर बाहिरबाट हेर्दा अभिनय गर्न जति सजिलो छ, त्यो वास्तवमा निकै कठिन विषय रहेछ। काम गर्दै जाँदा अभिनय गरिरहेजस्तै लागेन।’

उनले एसएलसीमा राम्रो प्रतिशतमा पास भएपछि सबैले छान्ने जस्तै इन्जिनियरिङको अध्ययन र पेसालाई छनोट गरे पनि पछि गएर फिल्मप्रति चाख लागेकाले यो क्षेत्रमा आएको पनि खुलाइन्। सुरक्षाले धनपतिले आफूलाई नयाँ उचाइ दिलाउने दाबी पनि गरिन्। यसमा उनले आमाको भूमिकासमेत निर्वाह गरेकी छिन्। ‘अहिलेका टिनएजलाई फिल्ममा काम गर्ने भन्नेबित्तिकै हिरोइन बन्ने चाहना हुन्छ। त्यसैले मैले सुरक्षालाई शुरूकै भेटमा यो फिल्ममा तिमी हिरोइन होइन, कलाकार हौ भनेको थिएँ’, चपली हाइट निर्देशक दीपेन्द्र के खनालले सुनाए– ‘उसलाई शुरूकै भेटमा फिल्ममा तिमी आमा बन्नुपर्छ पनि भनेको थिएँ। तर धनपतिमा सुरक्षाले सोचेको भन्दा पनि राम्रो काम गरेकी छन्।’

निर्देशक खनालले धनपति पैसासँगको संघर्षको कथा भएको खुलाए। ‘मानिसको जन्मदेखि मृत्युसम्मका सबै कुरा पैसासँगै जोडिन्छ। यो फिल्म त्यही विषयमा केन्द्रित छ’, दीपेन्द्रले भने– ‘आम मानिस र राजनीतिसँग जोडिएको फिल्म हो धनपति।’ प्रेमकथाको द युगदेखि युगसम्म र यौन मनोविज्ञानमा जेलिएको चपली हाइटजस्ता फिल्म बनाएर ताली र गाली खाएका निर्देशक खनालले समयसँगै फिल्मका विषयवस्तु पनि परिवर्तन हुने बताउँछन्। ‘फिल्ममा डेब्यु गर्दा मेरो उमेर परिपक्व थिएन। त्यसैले त्यो बेला त्यस्तै फिल्म बनाइयो। समयसँगै सबै करा परिवर्तन हुँदै जान्छ। त्यसैले पहिलेको कुरा अहिले राम्रो लाग्दैन। अस्तिसम्म पशुपतिप्रसादको चर्चा थियो, अब विस्तारै धनपतिको चर्चा हुनेछ’, उनले भने– ‘म आफैं सन्तुष्ट भएको फिल्मचाहिँ द युगदेखि युगसम्म र चपली हाइटभन्दा पनि पशुपतिप्रसाद नै थियो। धनपतिलाई दर्शकले कसरी लिनुहुन्छ त्यो अर्कै कुरा हो। तर यो पशुपतिप्रसादभन्दा कम रेन्जको फिल्म पक्कै होइन।’

फिल्मका प्रमुख कलाकार तथा लेखक खगेन्द्र लामिछानेले धनपति पारिवारिक र सामाजिक कथाको फिल्म भएको प्रस्ट पारे। थोरै काम गर्ने तर जीवन्तता दिने क्षमता राख्ने यी पशुपतिप्रसाद काम अवार्ड लायकको गर्छन्, तर अवार्डबाट सधैं टाढा भाग्ने गर्छन्। त्यससम्बन्धी जिज्ञासामा उनी खुले– ‘अवार्डबाट भागेकै त होइन, तर अभिनय के उद्देश्यले गरेको भन्ने कुरा आउँछ। वास्तवमा मैले फिल्म खेल्छु भनेर कहिल्यै सोचेको थिइनँ। फिल्म खेले पनि भीडभाडमा रमाउन कहिल्यै सकिनँ। म भीडभाडमा अहिले पनि जानै सक्दिनँ। अर्को कुरा मेरो उद्देश्य अवार्ड पनि होइन। मन लाग्दा फिल्ममा काम गर्छु। ठूलो एक्पेक्टेसन पनि छैन।’ खगेन्द्र भन्दै थिए– ‘त्यसैले म कुनै अवार्ड कार्यक्रममा जान्नँ। किनभने मैले अवार्डका लागि काम गरेको पनि होइन। ठूलो पल्टेको पनि होइन।’ अवार्डको सन्दर्भमा खगेन्द्र नेपालको आमिर खान पो बन्न खोजेका हुन् कि ? ‘होइन त्यस्तो त। वास्तवमा आमिरले पनि अवार्ड लिँदैनन् भन्ने कुरा मैले अरूबाटै धेरैपछि सुनेको हुँ। मैले अवार्डका लागि काम गरेको होइन, त्यसैले त्यो दौडमा चाहिँ छैन त्यती हो’ –उनले भने।

प्रतिक्रिया दिनुहोस्