मधेसी दल पनि जोड घटाउमा



 

बीपी साह, काठमाडौं
स्थानीय निकायको दोस्रो चरणको निर्वाचनको मौन अवधिमा मधेस केन्द्रित नेताहरू आ–आफ्नै दाउमा लागेका छन्। मौन अवधिमा केही नेताहरूले जिल्ला–जिल्लामा संगठन बनाउँदै हिँडेको पाइएको छ भने केही नेताले तालमेलमा समय खर्चिंदै गरेको पाइएको छ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सोमबार विराटनगरमा असन्तुष्ट नेता तथा कार्यकर्ताहरूसँग भेटघाटमा व्यस्त रहनुभएको छ। गच्छदारको निजी सचिवालयले दिएको जानकारीअनुसार विराटनगर महानगरपालिकामा गच्छदार र एमालेको गठबन्धन जित्ने सम्भावना रहेकाले गच्छदारले सम्पूर्ण शक्ति विराटनगरमा लगाउनुभएको छ।

गच्छदारले अन्य मधेसवादी दलका नेता तथा कार्यकर्ताहरूसँग छलफल गरी आफ्नो पक्षमा पार्ने प्रयास गरिरहनुभएको छ। हुनत गच्छदारको पश्चिमको कैलाली जिल्लामा पनि राम्रो पकड रहेको छ। दोस्रो संविधानसभाको निर्वाचनमा गच्छदारको दलले कैलालीबाट दुई सिट जितेको थियो। थारू बाहुल्य रहेको उक्त क्षेत्रमा नेताहरू रामजनम चौधरी र जनक चौधरीले सोमबार दिनभरि गाउँस्तरका कार्यकर्ताहरूलाई भेटेको कार्यालय सचिव परमानन्द मेहताले बताउनुभयो।

यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार कपिलवस्तुको कृष्णनगरमा सभालाई सम्बोधन गर्नुभएको थियो भने सोमबार कृष्णनगरबाट विभिन्न जिल्लाका कार्यकर्ताहरूलाई भेट्दै मंगलबार बिहानसम्म विराटनगर पुग्नुहुने बताइएको छ। फोरम नेपालकी नेतृ रेखा यादवका अनुसार सोमबार उपेन्द्र यादवले कपिलवस्तुसहित रूपन्देही र नवलपरासीका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्नुभएको छ। विराटनगरमा फोरम नेपाल र माओवादी केन्द्रको सहकार्य रहेकोले जित्ने सम्भावना बढी रहेको भन्दै नेतृ यादवले आफूहरू पनि विराटनगर केन्द्रित भएको बताउनुभयो। यता कपिलवस्तुको कृष्णनगरबाट फोरम नेपाल पहिलो र दोस्रो संविधानसभामा निर्वाचित भएकाले त्यस क्षेत्रमा पनि उसको पकड राम्रो रहेको मानिन्छ।

उता आइतबार राजपाका शीर्ष नेता २ नम्बर प्रदेशको पूर्वी जिल्ला सप्तरीको राजविराजमा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए भने सोमबार भने मौन नै रहे राजपाले पूर्वको राजविराजदेखि पर्सासम्म यस अवधिमा संगठन निर्माण कार्यक्रम गरेको छ।

अध्यक्ष मण्डलका नेताहरू सोमबार राजविराजबाट आ–आफ्नो जिल्ला फर्केका छन्। राजेन्द्र महतो सर्लाही, शरद्सिंह भण्डारी महोत्तरी, राजकिशोर यादव सिरहा, महेन्द्र यादव सर्लाही र अनिल झा रौतहटमा संगठन निर्माणका लागि सक्रिय हुनुभएको छ।

उहाँहरूले सोमबार आ–आफ्नो जिल्लामा फर्केर संगठन निर्माण तथा १४ गतेको मधेस बन्दलाई प्रभावकारी बनाउन काम गरी रहेको राजपाका महासचिव केशव झाले नेपाल समाचारपत्रलाई बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्