इद उल फित्र भव्य रूपमा मनाइयो



 

नेपाल समाचारपत्र
काठमाडौं
अरबी पात्रो हिजरी संवत्अनुसार दशौं महिनाको पहिलो दिन सोमबार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व भव्यताका साथ मनाएका छन्।

दशौं महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेबई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।

खुसीपूर्वक दान गरेर दीनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो। अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन आइतबार बेलुकी चन्द्रमा देखिएपछि सोमबार इद उल फित्र मनाइएको हो।

यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ। यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ। यसलाई जकात भनिन्छ।
इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन्। जसलाई सत्कार फितर भनिन्छ। यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ। यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ।

ओलीको शुभकामना
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वभरका इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको अन्त्यमा मनाइने इद उल फित्रको अवसरमा नेपाल र नेपालबाहिर रहनुभएका सम्पूर्ण मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

ओलीले सोमबार एक वक्तव्य जारी गरी हाम्रो मुलुक विविध भाषा, संस्कृति, धर्म, समुदाय र भूगोल जस्ता कुराहरूले विश्वमै विशिष्ट अवस्थामा रहेको जनाउँदै सदिऔंदेखि यी विशेषतायुक्त जनताको एकतालाई खल्बल्याउन विभिन्न कोणबाट भइरहेका प्रयत्नप्रति आफूहरू सबै विशेष संवेदनशील हुन आवश्यक छ
भन्नुभएको छ। ‘हाम्रो सामाजिक सहिष्णुता, मित्रता र सहकार्यले नै हाम्रो मुलुकलाई सबैको साझा फूलबारी बनाएको छ। यस विशिष्टतालाई अझ उन्नत बनाउन इस्लाम धर्मावलम्बीहरूको इदका अवसरमा आपसमा शुभकामना आदान–प्रदानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मैले अपेक्षा गरेको छु।’ –ओलीले भन्नुभएको छ।

‘सामाजिक सहिष्णुता, जिम्मेवारीबोध र राष्ट्रिय एकता आजको आवश्यकता हो। यस चाडले यस सन्दर्भमा थप योगदान दिने मैले विश्वास गरेको छु।’ –ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्