पेट्रोलियम पदार्थ आयात ठप्प पार्ने ब्यवसायीको चेतावनी



 

नेपाल समाचारपत्र
काठमाडौं
बाग्मती पेट्रोलियम डिलर एशोसिएसन आन्दोलनमा उत्रिएसँगै असार २० बाट बाग्मती अञ्चलमा पेट्रोलको हाहाकार हुने संकेत देखिएको छ। नेपाल आयल निगमले इन्धनको परिणाममा ठगी गरेको भन्दै बाग्मती पेट्रोलियम डिलर एशोसिएसन आन्दोलित बनेको हो।

शनिबार राजधानीमा वाग्मती पेट्रोलियम डिर्लस एशोसिएसनको भेलाले उक्त निर्णय गरेको हो। विरोध कार्यक्रममा बोल्दै वाग्मती पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष अच्युतबहादुर खड्काले असार २० गतेसम्म सरकारको निर्णय पर्खने र असार २० गतेसम्म माग पूरा नभए पहिलो चरणमा पेट्रोल आपूर्ति बन्द गर्ने निर्णय गरेको बताउनु भयो । पहिलो चरण अन्र्तरगत २० देखि २३ गते सम्म पेट्रोल आपूर्ति बन्द गर्ने सो दिन सम्म पनि माग सुनुवाई नभए डिजेल आपूर्ती समेत बन्द गर्न खड्काले बताउनु भयो।

‘हामी बन्द हड्तालको विरोध गछौं तर सरकारले हाम्रो माग सुनुवाई नगरेकाले बाध्यकारी निर्णय गर्न बाध्य भएको उहांले बताउनुभयो। उपभोक्ताले दुख नपाउन भनेर समयसीमा अगाडि नै सरकारले हाम्रो माग सम्बोधन गरोस भन्ने आग्रह गर्दछौ अध्यक्ष खड्काले भन्नुभयो। एशोसिएसनले बाग्मती अञ्चलभित्रका जिल्लामा पेट्रोल विक्री वितरण नगर्ने निर्णय गरेको हो।

‘सिंकेज एण्ड वर्किङ लस’ अत्यधिक भएको र त्यसको पूर्ति आयल निगमले नगरिदिएको भन्दै ब्यवसायीले आन्दोलन घोषणा गरेका हुन्। पेट्रोल ढुवानी गरेर बेच्दासम्म हुने प्राबिधिक घाटाको सम्बोधन नहुँदा ब्यवसायी घाटामा जान थालेकाले आन्दोलनमा उत्रनु परेको ब्यवसायीहरूले बताएका छन्।

एशोसिएसनका अध्यक्ष खड्काका अनुसार गत बैशाखमा नमुना परीक्षण गर्दा ४ हजार लिटर पेट्रोल बोकेर माली आयलमा पम्पमा आई पुग्दा ९९ लिटर इन्धन कम भएको र त्यसपछिको अनुगमन कीर्तिपुरको एउटा पम्पमा निगमले पठाएको ३ हजार लिटरमा ४८ लिटर डिजेल कम भएको नेपाल आयल निगम ,गुणस्तर तथा नापतौल विभागका र पेट्रोलियम डिलरको अनुमगनबाट पुष्टि भएको अध्यक्ष खड्काले बताउनु भयो ।
यसरी निगमले पठाएको इन्धन कम भएको छानविन गर्न गुणस्तर तथा नाप तौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको संयोजकत्वमा समिति गठन भएको थियो। आईतबार वाग्मती पेट्रोलियम डिलर्स एशोशिएसन र राष्ट्रिय पेट्रोलियम डिलर्स एशाशिएसनले, नेपाल आयल निगमका प्रमुख गोपालबहादुर खड्का र आपूर्ति मन्त्रालयका सचिब प्रेमकुमार राईलाई ज्ञापनपत्र बुझाएको छ। ‘गुणस्तर तथा नापतौल विभागकाले प्रतिबेदन दिएको छैन प्रतिबेदन आएपछि प्राबिधिक टिमले सिफारिस गरेको आधारमा मन्त्रालयले निर्णय गर्छ। अहिले स्थानीय निकायको निर्वाचन भएकाले छानविन समितिका प्रमुख असार २१ गते आएपछि छलफल गरेर समस्या समाधान गर्ने सचिब राईले बताउनु भयो’।

निगमका प्रवक्ता सिताराम पोखरेलले भन्नुभयो– ‘निगमले कम पेट्रोल दियो भन्न पाईदैन वितरण केन्द्रमा नै गएर सबै सरोकार पक्षले हर्ने पाउछन् निगमले कम पठाएको छैन कहाँ कसरी चुहावट भैरहेको छ प्रतिवेदन पछि प्रष्ट हुन्छ र निर्णय हुने छ ’। वाग्मती पेट्रोलियम डिलर्स एशोसिएसनको आन्दोलन घोषणा कार्यक्रमा हाम्रो पनि पूर्ण साथ सर्मथन र सहयोग रहेको राष्ट्रिय पेट्रोलियम डिलर्स एशोशिएसन अध्यक्ष लिलेन्द्र प्रधान बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्