चुनावको मुखैमा माओवादी केन्द्रीय सदस्य एमालेमा



 

नेपाल समाचारपत्र
प्युठान
दोस्रो चरणको स्थानीय तह निर्वाचनको मुखैमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव पौडेल एमालेमा प्रवेश गर्नुभएको छ। माण्डवी गाउँपालिका–२ मर्कावाङ रातापानी प्युठान निवासी पौडेललाई एमाले केन्द्रीय सदस्य, प्रचार विभाग उपप्रमुख एवं पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापाले स्वागत गरेर प्रवेश गराउनुभएको हो। माण्डवी गाउँपालिकाको शनिबार नयाँ गाउँस्थित जस्पुरमा आयोजित चुनावी सभामा थापाले पौडेललाई प्रवेश गराउनुभएको छ।
झन्डै २० वर्ष माओवादी केन्द्रमा रहेर राजनीति जीवनमा क्रियाशील रहनुभएका पौडेलले एमालेको नीति, विचार र राष्ट्रियताप्रतिको अडानलाई मन पराएर एमाले परिवारमा प्रवेश गरेको प्रतिक्रिया दिनुभयो। ‘लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न एमालेको भूमिका पनि उल्लेखनीय छ’, विगतको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘एमालेको साथ नभएको भए गणतन्त्र स्थापना हुने नै थिएन।’

पछिल्लो समय माओवादी केन्द्र ‘बन्दागोपी’ जस्तै भएको समेत उहाँले संज्ञा दिनुभयो। ‘माओवादी केन्द्र बन्दागोपीको पात जस्तै भयो’, पौडेलले भन्नुभयो– ‘एउटा पात निकाल्यो अर्को पात आउँछ। अर्को निकाल्यो अर्को आउँछ। अन्तिममा केही पनि हुँदैन।’ सही नीति र नेतृत्व नहुँदा माओवादी भंग हुने संघारमा पुगेको समेत उहाँले स्पष्ट पार्नुभयो। देशव्यापी रूपमा एमालेप्रति बढ्दै गएको जनलहरलाई व्यवस्थित गरी अघि बढ्न उहाँले पार्टीलाई सुझावसमेत दिनुभयो। ‘देशभरि नै एमालेमा जनताको आकर्षण बढ्दै गएको छ’, उहाँले भन्नुभयो– ‘धेरै भएर मात्तिने र थोरै भयौँ भनेर आत्तिने गर्नुहुँदैन।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एमाले नेता सूर्य थापाले माओवादी नेता पौडेलले सही समयमा सही निर्णय गरेको उल्लेख गर्नुभयो। ‘प्युठानका कमजोर भनिएका ठाउँमा पनि एमालेको संगठन मजबुत भइसकेको छ’, उहाँले भन्नुभयो– ‘हाम्रो परिवारमा आइसकेपछि कोही पनि बिचलनको स्थिति हुने छैन।’ मुलुकको पछिल्लो राजनीति क्रम, एमालेको नीति तथा कार्यक्रमलगायत विषयमा उहाँले सम्बोधनका क्रममा स्पष्ट पार्नुभयो।

यसपालिको निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा एमालेले विजयी हासिल गर्ने एमाले प्युठानका उपसचिव मधुर शर्माले दाबी गर्नुभयो। ‘माण्डवी कुनै बेला माओवादी र राजमोको उद्गम थलो थियो’, उहाँले भन्नुभयो– ‘अहिले जनआधार खस्किदै गएको छ। एमालेले जित्ने निश्चित भइसक्यो।’ माओवादी र राजमोको केन्द्रीय नेता जन्माउने थलो भए पनि माण्डवीमा एमालेप्रति नागरिकको आकर्षण बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा विभिन्न पार्टी छाडेर डेढ सय बढी नेता, कार्यकर्ता एमालेमा प्रवेश गरेको उहाँले जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्