पूँजीगत खर्च बढाउने रहर



 

नेपाल समाचारपत्र
काठमाडौं
शहरी विकास मन्त्री प्रभु साहले पुँजीगत खर्च बढाएर छिटो र गुणस्तरीय ढंगले काम गर्नुपर्ने बताउनुभएको छ। मन्त्रालयको पुँजीगत खर्च अपेक्षा गरेको अनुसार हुन नसकेको बताउँदै उहाँले आगामी दिनमा सुधार गर्दै लैजाने बताउनुभएको हो।

शहरी विकास मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री साहले आर्थिक वर्षमा पुँजीगत खर्च बढाउने र गुणस्तरीय काममा ध्यान दिइने बताउनुभयो। उहाँले भन्नुभयो– ‘विकास निर्माणको योजना सम्पन्न सम्पन्न गर्न मन्त्रालयका आयोजनाका प्रमुख र ठेकेदार कम्पनी जिम्मेवार बन्नुपर्छ।’

शहरी पूर्वाधार निर्माण गर्नका लागि मन्त्रालयले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रम बनाएर नै काम गर्ने बताउँदै मन्त्री साहले नगरपालिकासँगै गाउँपालिकालाई पनि शहरीकरण गर्ने चुनौती रहेको बताउनुभयो। स्मार्ट सिटी निर्माणको काम अगाडि बढे पनि अपेक्षाअनुसार काम हुन नसकेको छैन, विकास निर्माणमा समन्य गरेर काम गर्नुपर्छ’ –उहाँले भन्नुभयो।

मन्त्री साहले जनताले अब बजेट भाषणलाई पत्याउने अवस्था नरहेको बताउँदै परिणाममा नै काम भएको देख्न चाहेको जनताको चाहनालाई पूरा गर्ने चाहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘राजधानी काठमाडौंका खालि रहेको क्षेत्रमा आधुनिक र सुविधासम्पन्न शहरी निर्माण गर्छाैं।’

शहरी विकास तथा भवन निर्माण विभागले सरकारले ७० वटा नगरपालिकामा निर्माण गर्न लागेको एकीकृत शहरी विकास योजना कार्यक्रम रद्द गराएको बारेमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘विभागले गरेको निर्णय कानुनसम्मत छ भने ठिक छ, कानुनसम्मत छैन भने कानुनसम्त ढंगले अगाडि बढछ।’ विभागले ७० वटा नगरपालिकाहरूको एकीकृत शहरी विकास योजना कार्यक्रम आशयपत्र स्वीकृत गरेर पनि रद्द गरेको थियो।

कार्यक्रममा शहरी विकास मन्त्रालयका प्रवक्ता डा. रमेशप्रसाद सिंहले मन्त्रालय मातहतका रहेको निकायले गरेका कामप्रति आएको गुनासो सम्बोधन गर्न मन्त्रालयले समस्याको पहिचान गरी समाधान गर्ने गरी काम गरिरहेको बताउनुभयो।

शहरी विकास मन्त्री साहले पद वहाली भएलगत्तै चारबुँदे विशेष निर्देशन दिनुभएको थियो। प्रदेशस्तरका सरकारी पूर्वाधारको आवश्यकता पहिचान एवं मापदण्ड निर्धारण गर्न कार्यटोली गठन गर्नुभएको थियो। त्यसै गरी जनता आवास कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन इन्जिनियर खटाएर प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्