संरक्षक र अभिलाषा च्याम्पियन



 

नेपाल समाचारपत्र
काठमाडौं
चौथो नेपाल जुनियर ओपन लन टेनिस च्याम्पियनसिपअन्तर्गत शनिबार अन्डर–१८ को सिंगल्स फाइनलमा नेपाली सेनाका खेलाडीद्वय संरक्षक भूषण वज्राचार्य र अभिलाषा विष्ट च्याम्पियन बनेका छन्।

शनिबार सातदोबाटोस्थित टेनिस कोर्टमा भएको अन्डर–१८ ब्वाइज सिंगल्सको फाइनलमा संरक्षक भूषणले प्रणव खनाललाई ७–६, ७–५ को सेटमा हराउँदै उपाधि उचाले। यसै गरी सोही उमेर समूहको गल्र्स सिंगल्सको फाइनलमा अभिलाषा विष्टले बिजिशा श्रेष्ठलाई ६–३, ६–२ सेटमा पराजित गर्दै च्याम्पियन बनिन्।

प्रतियोगिताको शनिबार भएको सबै फाइनल खेलहरूबाट ब्वाइज र गल्र्स सिंगल्स गरी विभिन्न ६ उमेर समूहका १२ खेलाडीहरू विजेता बन्न सफल भएका हुन्। जसअन्तर्गत अन्डर–८ को ब्वाइजमा निशाद जोशी र गल्र्समा समृद्धि महर्जन विजेता बने। यसै गरी अन्डर–९ को फाइनलमा प्रसंशा मोक्तान र सक्षम बिक्रम शाह च्याम्पियन बन्दा अन्डर–१० उमेर समूहमा पनि प्रसंशा मोक्तान तथा आरभ सम्राट हाडा विजयी बने। यस्तै अन्डर–१२ उमेर समूहमा रायना शाह र आर्यन गिरी विजयी बन्दा अन्डर–१४ उमेर समूहमा सलोनी तामांग र आदित सुवेदीले उपाधि चूमे।

फाइनलका विजेताहरूलाई जेटीआई नेसनल कोर्डिनेटर कृष्णराज घले तथा आयोजक नेपाल जुनियर लन टेनिसका अध्यक्ष अजय विष्टले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए। प्रतियोगितामा सहभागी खेलाडीहरूले प्राप्त गरेको अंकको आधारमा लन टेनिसको जुनियर रयान्किंगमा उनीहरूलाई समावेश गरिने अध्यक्ष विष्टले बताए।

प्रतिक्रिया दिनुहोस्