सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजपा



 

बीपी साह, काठमाडौं
आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने भएको छ। वर्तमान सत्ता गठबन्धनसँग दुईपटक तीन बुँदे सहमति भए पनि कुनै पनि सहमति कार्यान्वयन नभएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सशक्त आन्दोलन गर्ने तयारीमा जुटेको छ ।

राजपासँगको वार्तामा सरकारले दोस्रो चरणको निर्वाचनअघि थरुहट क्षेत्रमा आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता र कैदी बन्दीहरूलाई रिहा गर्ने आश्वासन दिएको थियो। तर निर्वाचन नजिकिँदै जाँदासमेत मुद्दा फिर्ता नभएको र बन्दीहरूको रिहासमेत नभएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको राजपाका सहमहामन्त्री राकेश मिश्रले नेपाल समाचारपत्रलाई बताउनुभयो।

राजपाका प्रवक्ता कृष्णा सिंहले असार १४ गतेपछि सरकारबाट समर्थन फिर्ता हुने बताउनुभयो। उहाँले भन्नुभयो– ‘वर्तमान सरकारले एकापट्टि सहमति पनि गरेको छ अर्कोपट्टि विरोधसभामा गोली पनि चलाएको छ। त्यसकारण अहिलेको सरकारलाई समर्थन दिइराख्नुको औचित्य छैन।’

प्रवक्ता सिंहले अहिले शीर्ष नेताहरू निर्वाचनको विरोधमा कार्यक्रमहरूमा सहभागी रहेको बताउँदै १४ गतेपछि बस्ने राजपाको बैठकबाट समर्थन फिर्ता हुने बताउनुभयो।

यता राजपाको अध्यक्ष मण्डलका नेता अनिलकुमार झाले आफूहरूलाई स्थानीयस्तरबाट समर्थन फिर्ता लिन दबाब आइरहेको बताउँदै समर्थन फिर्ता हुने बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै झाले भन्नुभयो– ‘जिल्ला–जिल्लाबाट हामीलाई सरकारबाट समर्थन फिर्ता लिन दबाब आउँदै छ।

अहिलेको सरकारले सहमति विपरीत काम गरेकोले समर्थन दिइराख्नुको औचित्य नरहेको सर्वसाधारणको भनाइरहेको छ। त्यसकारण अब हामी पनि छलफल गरेर समर्थन फिर्ता लिन सक्छौं।’ तर राजपाभित्रका केही नेताहरू सरकारलाई दिइएको समर्थन फिर्ता लिन नहुने बताउँछन्।

उनीहरूले राजपाले समर्थन फिर्ता लिँदैमा सरकारलाई खासै असर नपर्ने तर्क गर्छन्। राजपाका एक नेताले भने– ‘सरकारले सक्दो जतिको काम गर्दै छ। तत्कालै केही गर्न सक्ने अवस्थामा सरकार छैन। उहाँहरूले १४ गतेको निर्वाचनपछि हाम्रो माग पूरा गर्ने भन्नुभएको छ। अहिले नै सरकारबाट समर्थन फिर्ता लिएर पुनः आन्दोलनमा जानुको औचित्य छैन।’

यता राजपाका प्रवक्ता सिंहले आन्दोलनको विकल्प नरहेको बताउँदै यसअघि प्रचण्ड नेतृत्वको सरकारले पनि सहमति गरेर धोका दिएको आरोप लगाउनुभयो। उहाँले वर्तमान सरकारलाई समर्थन दिएर आफूहरू गोली खान तयार नरहेको बताउनुभयो। यसअघि नवलपरासीमा पत्रकार सम्मेलन गरेरै राजपाका नेता हृदेयश त्रिपाठीले सरकारबाट समर्थन फिर्ता लिइने घोषणा गरिसक्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्