पुनर्निर्माण हुन थाले विश्वविद्यालय



 

ईश्वरराज ढकाल, काठमाडौं
त्रिभुवन विश्वविद्यालयले भूकम्पबाट ध्वस्त भएका उपकुलपति कार्यालय, रेक्टर र रजिष्ट्रार कार्यालयको भवन पुनर्निर्माण शुरू गरेको छ।

पुनर्निर्माणका लागि काम शुरू गरेको पेस कन्सल्टेन्टले निर्माण कार्यलाई द्रुत बनाएको हो। सो कन्सल्टेन्टका प्रमुख इन्जिनियर विष्णु खनालले आगामी दुई वर्षभित्र त्रिवि मूल गेट, व्यवस्थापन डीन कार्यालय, एग्रो वायोमेट्रिक ल्याब, स्कुल अफ म्याथम्याटिकल साइन्स, बेसिक साइन्स, व्यवस्थापन संकायको डीन कार्यालय तीन वर्षभित्र सक्ने गरी काम भइरहेको जानकारी दिनुभयो।

भूकम्पले ध्वस्त भएका भवनमध्ये परीक्षा नियन्त्रण कार्यालयको निर्माण सम्पन्न भइसकेको छ।

१४ करोड ९५ लाख रुपियाँमा उपकुलपति कार्यालयको निर्माण भइरहेको छ। सो भवन २०७५ असारमा सम्पन्न भई हस्तान्तरण हुनेछ। १० करोड ४२ रुपियाँमा सम्झौता भई एक वर्षअघि निर्माण शुरू भएको रेक्टर कार्यालय निर्माण सम्पन्न हुने क्रममा रहेको छ। सो भवन यही वर्षको चैतमा निर्माण सम्पन्न भई हस्तान्तरण हुने इन्जिनियर खनालले जानकारी दिनुभयो।

एग्रो वायोमेट्रिक ल्याबको निर्माण सम्पन्न भइसकेको छ। ३ करोड ६८ लाख रुपियाँ लागतमा निर्माण भएको सो ल्याब हस्तान्तरण प्रक्रियामा रहेको छ। २०७२ भदौमा शुरू भएको म्याथम्याटिकल विज्ञान भवन अन्तिम चरणमा पुगेको छ। सो भवन १० करोड १९ लाख रुपियाँमा सम्झौता भएको थियो।

२०७२ चैतमा शुरू गरिएको बेसिक साइन्स भवन यही वर्षको चैतमा सम्पन्न हुने गरी काम भइरहेको छ। १४ करोड ९८ लाख रुपियाँमा सम्झौता भएको सो भवनको दोस्रो तला निर्माण कार्य भइरहेको इन्जिनियर खनालले बताउनुभयो। त्यसै गरी ४ करोड ३७ लाख रुपियाँमा १५ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको व्यवस्थापन डीन कार्यालयको काम शुरू भइरहेको जनाइएको छ।

‘हामी धमाधम पुनर्निर्माणमा लागिपरेका छौं’, त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाँले भन्नुभयो– ‘सम्झौताअनुसार काम र सरकारले समयमै रकम उपलब्ध गराए चार वर्षभित्रमा सम्पूर्ण संरचना निर्माण गरिसक्नेछौं।’
६६ लाख रुपियाँ लागतमा निर्माण शुरू गरिएको त्रिवि प्रवेशद्वार निर्माण अन्तिम चरणमा पुगेको छ। सामान्यबाहेक अन्य सम्पूर्ण कार्य पूरा भइसकेको इन्जिनियर खनालको भनाइ छ।

त्रिविका करिब ६० वटा निकाय पाल, प्रिफाइब र सामान्य टालटुलेरूपमा बसिरहेकामा हाल पुनर्निर्माणले गति लिन थालेको छ।

त्रिविले पहिलो चरणमा उपकुलपति र रेक्टरको कार्यालय पुनर्निर्माण सक्ने गरी काम शुरू गरेको हो। ३० वर्षदेखि त्रिविका तीन पदाधिकारी उपकुलपति, रेक्टर र रजिष्ट्रार एउटै भवनमा बस्ने व्यवस्था भएकामा अब छुट्टै बन्नेछ। अबको दुई वर्षमा तीनै पदाधिकारीले आफ्नै भवनबाट काम शुरू गर्नेछन्। पहिलो चरणमा उपकुलपति र रेक्टर भवन बन्न लागेको हो।

‘त्रिविले बहुवर्षीय योजनाअनुसार तीन वर्षमा सम्पन्न गर्ने गरी उपकुलपति र रेक्टर भवन बनाउन लागेको हो।’ –उपकुलपति प्राडा खनियाँले भन्नुभयो।

भूकम्पले डीन कार्यालय पूरै क्षतिग्रस्त भएको थियो। विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार उपकुलपति कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, त्रिवि सेवा आयोग, विज्ञान, शिक्षा, व्यवस्थापन, मानविकी संकायका डीनको कार्यालय, शिक्षण अस्पताल कार्यालयको भवन क्षति भएको विवरण सरकारलाई बुझाएको थियो।

भूकम्पले उपत्यकाका नेपाल ल, नेपाल कमर्श, पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस, पाटन संयुक्त, शंकरदेव, स्वयम्भूमा रहेको प्राकृतिक संग्रहालय, विज्ञान प्रयोगशाला, अस्कल, चितवनको वीरेन्द्र बहुमखीलगायत क्याम्पसको भवन क्षतिग्रस्त भएको थियो। क्षति भएको सम्पूर्ण संरचना पुनर्निर्माण गर्न करिब १० अर्ब रुपियाँ लाग्ने उपकुलपति खनियाँले बताउनुभयो।

त्रिविका पदाधिकारी र केही कर्मचारीको तलबबापत करिब १५ करोड रुपियाँ संकलन गरी पुनर्निर्माण शुरू गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्