सुनसरीमा चुनावी चटारो



 

इटहरी, १० असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका क्रममा राजनीतिक दलहरुले आ–आफ्नो पार्टीको पक्षमा जनमत आकर्षित गर्न इटहरी, धरान र अन्य सहरमा आज चुनावीसभा सम्पन्न गरेका छन् ।

सबै पार्टीले इटहरीलाई समृद्ध तथा प्रदेश नं १ को राजधानी बनाउने प्रतिबद्धता सार्वजनिक गरेका छन् । नेकपा (एमाले)ले इटहरीलाई प्रदेश नं १ को राजधानी बनाउने अभियानसँगै पार्टीको प्रदेश कार्यालय समेत इटहरीमा स्थापना गरिसकेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वको धेरै सम्भावना बोकेको सहरका रुपमा इटहरीलाई लिनुभएको छ । उहाँले इटहरीलाई प्रदेश नं १ को राजधानी बनाउन अब कसैले रोक्न नसक्ने बताउनुभयो । “ इटहरी जस्तो समृद्ध सहरलाई अझ शसक्त पार्नका लागि एमालेले जित्न जरुरी छ,” उहाँले भन्नुभयो ।

यस्तै नेपाली काँग्रेसले इटहरीको तरहरामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले आफ्नो पार्टीले जिते इटहरीलाई पूर्वकै व्यवस्थित र सुन्दर सहर बनाउने बताउनुभयो ।

यसैगरी राप्रपाले इटहरीमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दैै नेता रामकुमार सुब्बाले इटहरी पूर्वकै सुन्दर, सफा र व्यापारिक सहर भएकाले यसलाई अझ समृद्ध बनाउन राप्रपा लागि परेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्