जर्मनीलाई चिलीले रोक्यो



लन्डन, (एजेन्सी)
रसियामा जारी फिफा कन्फेडेरेसन कपअन्तर्गत समूह बी को दोस्रो चरणको खेलमा जर्मनी र चिलीले १–१ को बराबरी खेलेका छन्।

खेलको दुवै गोल पहिलो हाफमा भएको थियो। चिलीका लागि पछिल्लो खेल वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका स्टार विनर एलेक्सिस सान्चेजले छैटौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। उनले जर्मनीको रक्षापंक्तिले गरेको गल्तीको फाइदा उठाउँदै शुरूआती गोल गरेका हुन्।

उक्त गोलसँगै सान्चेजले चिलीका लागि सर्वाधिक गोलकर्ता बन्ने नयाँ कीर्तिमानसमेत कायम गरेका छन्। राष्ट्रिय टोलीबाट यो उनको ३८औं गोल बनेको छ। चिलीका पूर्वस्ट्राइकर मार्सेलो सालासको नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमानलाई तोड्दै सान्चेजले नयाँ कीर्तिमान बनाएका हुन्।

तर उक्त गोलको अग्रता खेलको ४१औं मिनेटमा तोडियो। जोनास हेक्टरको क्रसलाई सदुपयोग गर्दै लार्स स्टिन्डलले गोल गरेपछि जर्मनीले पहिलो हाफसम्म खेललाई बराबरीमा ल्याएका थिए। दोस्रो हाफमा भने थप गोल हुन सकेन र खेल बराबरीमा टुंगिएपछि दुवै टोलीले समान एक–एक अंक बाँडे।

बराबरीसँगै समूहको अंक तालिकामा चिली ४ अंकसहित शीर्षस्थानमा रहेको छ। समान अंक बोकेको जर्मनी गोलअन्तरको आधारमा दोस्रो स्थानमा छन्। यसै समूहमा रहेको क्यामरुन र अस्ट्रेलियाको भने समान एक–एक रहेको छ।

प्रतियोगिताअन्तर्गत यसअघि भएको खेलमा क्यामरुन र अस्ट्रेलियाले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडे थिए। क्यामरुनका आन्द्रे अंगुइस्साले खेलको ४५औं मिनेटमा गोल गर्दै टोलीलाई शुरूआती अग्रता दिलाएका थिए। तर खेलको ६०औं मिनेटमा मार्क मिलिगनले पेनाल्टीमार्फत गोल गर्दै अस्ट्रेलियाको हार टारे।

प्रतिक्रिया दिनुहोस्