आयोगले ३५ वटै जिल्लामा अनुगमन गर्ने



काठमाडौं, (नेस)
राष्ट्रिय मानव अधिकार आयोगले २०७४ असार १४ गते हुने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मानव अधिकारको दृष्टिकोणबाट निर्वाचनको समग्र प्रक्रियाको अनुगमन गर्ने भएको छ। प्रदेश नम्बर १, ५ र ७ का, ३५ वटा जिल्लामा मानव अधिकारको सुनिश्चितता सम्बन्धमा अनुगमन गर्नका लागि आयोगका अधिकृतसहितको टोली खटिएका छन्।

टोलीले, राजनीतिकदलहरूले शान्तिपूर्वक भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाएनपाएको, राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भएनभएको, मतदाता शिक्षा तथा नागरिक सचेतनाको अवस्था, राजनीतिक दलद्वारा निर्वाचनको क्रममा हुन सक्ने मानव अधिकार हनन्, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यकलगायत सबै नागरिकले भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता, ‘स्थानीय तह निर्वाचन आचार संहिता, २०७३’ मा उल्लिखित मानव अधिकारसम्बन्धी विषय, समग्र सुरक्षा स्थितिलगायतका विषयमा अनुगमन गर्नेछ।

त्यसै गरी, आयोगका सबै क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयहरुबाट खटिएका टोलीहरुद्वारा दोस्रो चरणको निर्वाचनमा मनोनयन प्रक्रियाको समेत अनुगमन गरिएकोे आयोगले जनाएको छ।अनुगमनको क्रममा, बाजुरा, नवलपरासी, बाँके, सुनसरी, कपिलवस्तु, खोटाङलगायतका जिल्लाहरुमा भएका झडप, बम विष्फोट तथा आक्रमणको क्रममा एक जनाको ज्यान गएको तथा केही व्यक्तिहरु घाइते भएको पाइएको जनाइएको छ।

घाइते तथा व्यक्तिहरुको ज्यान जाने गरी भएका घटनाप्रति आयोग गम्भीर चिन्ता प्रकट गर्दछ, आयोगद्वारा जारी वक्तव्यमा भनिएको छ– ‘घटनाको सत्यतथ्य छानविन गरी घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न तथा घाइतेहरुको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।

‘शान्ति सुरक्षालाई मजबुत बनाई स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न र मतदाताको अधिकारको संरक्षण गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ। साथै, संयमित र शान्तिपूर्ण ढंगबाट निर्वाचन प्रक्रिया अगाडि बढाउन आयोग राजनीतिक दलहरुलाई समेत आग्रह गर्दछ ’ आयोगद्वारा जारी गरिएको वक्तव्यमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्