रुकुमका २७ स्थल अतिसंवेदनशील



धनवीर दाहाल, रुकुम
दोस्रो चरणको निर्वाचनमा रुकुमका ३ वटा स्थानीय तहका ३१ मतदान स्थल मध्ये २७ वटा मतदान स्थल अतिसंवेदनशील सूचीमा परेका छन् भने ४ वटा मतदानस्थल संवेदनशील सूचीमा परेका छन्।

जिल्ला सुरक्षा समितिले विभिन्न सूचकलाई आधार मानेर अति संवेदनशील र संवेदनशील मतदान स्थलको पहिचान गरेको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले बताउनुभयो।

उहाँका अनुसार भौगोलिक विकटता, सञ्चारको पहुँच, थप सुरक्षा फोर्स पठाउन सकिने र नसकिने अवस्था, निर्वाचन अधिकृतको कार्यालयबाट टाढाको दुरीमा रहेका, सडकको पहुँच नभएका र राजनीतिक दलको प्रतिस्पर्धाका आधारमा अति संवेदनशील र संवेदनशील मतदान स्थलको पहिचान गरिएको हो।

जिल्लामा पहिलो चरणको निर्वाचनभन्दा दोस्रो चरणको निर्वाचनमा जोखिम बढी रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले जनाउनुभयो। यसै गरी निर्वाचन सुरक्षाका लागि ३ स्थानीय तहमा करिब साढे १२ सय बढी सुरक्षाकर्र्मी परिचालन गरिएको छ।

४ सयभन्दा बढी नेपाल प्रहरी, ५ सयभन्दा बढी म्यादी प्रहरी, २ सय ५० भन्दा बढी नेपाली सेना र १ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ। आवश्यकताअनुसार थप अन्य सुरक्षाकर्र्मी पनि परिचालन गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ।

जिल्लाको सिस्ने, भुमे र पुथा उत्तरगंगा गाउँपालिका गरी ३ स्थानीय तहमा असार १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुँदै छ। जिल्लाका ६ वटा स्थानीय तहमा वैशाख ३१ गते नै निर्वाचन भइसकेकाले सबै सुरक्षाकर्मी ३ प्रदेशमा परिचालन गरिएको छ। त्यस्तै २ नम्बर प्रदेशमा चुनाव सरेकाले थप सुरक्षाकर्र्मी जिल्ला झिकाइएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्