कान्तिलोकपथको धुलोले गाउँले बिरामी



हेटौंडा,(नेस) कालोपत्रे सुरु भएको कान्तिलोकपथ सडक आयोजनाको धुलोका कारण गाउँले बिरामी पर्न थालेका छन् ।
कान्तिलोकपथ सडक आयोजनाको कालोपत्रे गर्न हेटौंडा–१७, चुनडाँडा र रामपुरडाँडाबीच स्थापना गरिएको प्लान्टबाट निस्किएको धुलोका कारण १६ घरमा बस्दै आएका स्थानीय बिरामी पर्न थालेका हुन् ।

‘स्थानीयलाई थाहा नदिएर सञ्चालनमा ल्याइएको प्लान्टबाट निस्किएको धुलोका कारण सबै बिरामी परेका छन्’, स्थानीय युवा दामोदर दाहालले विशेषगरी बालबालिका र बृद्धलाई धुलाले असर गरेको बताए । उनले आँखा चिलाउने, बान्ता हुने र श्वासप्रश्वाससम्बन्धि समस्या देखिएको बताए ।

स्थानीय दीपक थापाका अनुसार कोहिनुर कन्स्ट्रक्सनले उक्त स्थानमा कालोपत्रेका लागि आवश्यक सामग्री तयार पार्ने काम गरिरहेको छ । ‘दुई वर्षका लागि ढुंगागिट्टी र बालुवा राख्न भनेर भाडामा लिइएको जग्गामा प्लान्ट सञ्चालन भएको पाइयो’, थापाले उक्त प्लान्ट तत्काल हटाउन आग्रह गरे ।

स्थानीयले प्रमुख जिल्ला अधिकारी नारायण शर्मादुवाडी, हेटौंडा उपमहानगर मेयर हरिबहादुर महत तथा हेटौंडा वडा नम्बर–१८ का अध्यक्ष भैरव राईलाई पत्र बुझाउँदै तत्काल उक्त प्लान्टर हटाएर मानव स्वास्थ्य रक्षाका लागि आग्रह गरेका छन् ।

स्थानीय नवराज न्यौपानेले दिएको जानकारीअनुसार उक्त स्थानको कालोपत्रे गर्ने काम मोतीदान जेभी कन्स्ट्रक्सले गरिरहेको छ । ‘प्लान्ट सञ्चालनमा आएको पाँच दिन बित्न नपाउँदै गाउँले बिरामी परिसके । यस विषयमा ध्यानाकर्षण नभए गाउँले आन्दोलनका लागि अगाडि बढ्नेछन्’, रंगनाथ दाहालले भने ।

स्थानीयले प्लान्टलाई अन्यत्र सार्न आग्रह गर्दा ‘गुण्डा परिचालन गरेको’ आरोप लगाएका छन् । ‘यस विषयमा कन्स्ट्रक्सनको ध्यानाकर्षण गराउन खोज्दा हामीलाई गुण्डा परिचालन गरेर धम्की दिने काम भयो’, उनीहरुले भने–गुण्डा परिचालनका विषयमा पनि स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छौं । प्लान्ट सार्न प्रशासन र हेटौंडा उपमहानगरपालिकाले कन्स्ट्रक्सनलाई आग्रह गरेको छ ।

हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको बैकल्पिक मार्ग कान्तिलोकपथ निर्माण कार्य तीव्रगतिमा अगाडि बढाइएको छ । वहुवर्षीय ठेक्का प्रणालीमार्फत् काम भइरहेको आयोजनाको जेठसम्ममा ४५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको हो ।

यी क्षेत्रमा सडक फराकिलो बनाउने, पर्खाल लगाउने, ग्राभेलिङ गर्ने र कालोपत्रे काम भइरहेको छ । २०७५ सालसम्म सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाको हेटौंडादेखि मकवानपुरगढीसम्म चालु आव २०७३÷०७४ मा कालोपत्रे गरिने छ ।
हेटौंडा–१७, चुच्चेखोलाबाट कालोपत्रे गर्ने काम सुरु भएको छ । कामको गुणस्तरबारे स्थानीयले समेत निगरानी गरेको हेटौंडा–१७, गैरीगाउँका यतिन्द्र पुडासैनीले बताए । सडक विस्तारले मकवानपुरका साथै देशकै आर्थिक एवम् सामाजिक विकासमा टेवा पुग्ने मकवानपुरगढी–२ का वीरबहादुर गोलेले बताए ।

कान्तिलोकपथमा मोतीदान कन्स्ट्रक्सनले जिल्लाकै नमूना पिच गर्न सुरु गरेको छ । देशका मुख्य राजमार्ग पृथ्वी राजमार्ग र त्रिभुवन लोकमार्ग परे पनि गुणस्तरीय पिच नहुँदा सधैं खाल्डाखुल्डीको समस्या पर्दै आएको थियो ।
हेटौडा–काठमाडौं जोड्ने कान्तिलोकपथको पहिलो पिच हेटौंडाको चुच्चेखोलाबाट सुरु गरिएको छ । हेटौंडाको चुच्चेखोलामा मोतीदान कन्स्ट्रक्सनले काम गरिरहेको छ । कन्स्ट्रक्नसले अन्तर्राष्ट्रिय गुणस्तरको पिच गर्ने कार्य सुरु गरेको प्रवन्ध निर्देशक विकास गौतमले बताए ।

गौतमका अनुसार डिभिजन सडक कार्यालयका प्रतिनिधिको रोहवरमा अन्तर्राष्ट्रियस्तरको पिच गरिएको छ । उक्त सडकमा दोहोरो भारबाहक सवारी साधन सञ्चालन गर्न आवश्यक पर्ने बाक्लो पिच राखिएको छ । पिच गर्नका लागि आवश्यक अलकत्राको तापक्रम व्यवस्थापन गरिएको गौतमले बताए । कम्पनीले पिचको गुणस्तर न्यून हुन नदिन कम्पनीका तर्फबाट इञ्जिनियर खटाएर काम गरिरहेको छ ।

२०१३ मा ट्रयाक खुलेको एक लेनको सडकमा २०१६ सालदेखि सवारी सञ्चालन सुरु भएको थियो । ललितपुर र मकवानपुरको सीमास्थित बागमती नदीमा पुल नभएको र कच्ची धुले सडक भएकाले वर्षमा ९ महिनाजति मात्र यो सडकमा सवारी चल्थ्यो । नेपाली सेनाले निर्माण गरेको यो राजमार्ग ६० वर्षसम्म ओझेलमा प¥यो ।

२०५९ मा काठमाडौं–हेटौंडा जोड्ने छोटो दुरीकोे मार्गलाई वैकल्पिकरुपमा विकास गर्न कोरियाली सरकारको सहयोगमा बिस्तृत परियोजना प्रस्ताव तयार गरिएको थियो ।

यस मार्गलाई सरकारले पूर्णता दिन आर्थिक वर्ष २०६५÷०६६ देखि कान्तिलोकपथ सडक योजना स्थापना गरी स्तरोन्नति सुरु गरेको हो । स्तरोन्नतिको काम सुरु भए पनि प्रभावकारीरुपमा काम हुन नसकेपछि व्यवस्थापिका–संसद्को विकास समितिले २०७१ मा यस मार्गलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको थियो ।

व्यवस्थापिका–संसद्को विकास समितिले गत फागुनमा आयोजनाको स्थलगत अनुगमन गरी तीव्ररुपमा काम अगाडि बढाउन निर्देशन दिएको थियो । दक्षिणकाली, सिस्नेरी–भीमफेदी सडक साँघुरो र त्रिभुवन राजपथमा धेरै चाप हुने समस्यालाई समाधान गर्न कान्तिलोकपथ वैकल्पिक हुने भएकाले छिटो स्तरोन्नति हुनुपर्ने आवाज उठिरहेको छ ।
लोकपथ स्तरोन्नतिका लागि सरकारले अघिल्ला आवमा पाँच÷पाँच करोड बजेट छुट्याउँदै आएकोमा चालु आवमा ३९ करोड विनियोजन गरेको छ । यस कार्यमा मकवानपुर–१ का सांसद् इन्द्रबहादुर बानियाँले उल्लेख्य भूमिका निर्वाह गरेका छन् । यसअघि सरकारले यस योजनामा झण्डै ४७ करोड खर्च गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्