मेक्सिको शीर्षस्थानमा



 

लन्डन, (एजेन्सी)
फिफा कन्फेडेरेसन कपअन्तर्गत बुधबार भएको समूह ‘ए’को खेलमा मेक्सिकोले न्युजिल्यान्डलाई पराजित गर्दै लिग तालिकाको शीर्ष स्थान कब्जा गरेको छ।

एक गोलले पछि परेको अवस्थालाई उल्टइउँदै मेक्सिको न्युजिल्यान्डलाई २–१ ले पराजित गर्न सफल भएको हो। खेलको ४२औं मिनेटमा कप्तान क्रिस वुडको गोलमार्फत न्युजिल्यान्डले पहिलो हाफसम्म १–० ले अग्रता लिएको थियो।

तर दोस्रो हाफमा मेक्सिकोले उत्कृष्ट पुनरागमन गर्दै दुई गोल फर्कायो। खेलको ५४औं मिनेटमा राउल जिमिनेजले गोल गरेपछि मेक्सिको खेलमा फर्कियो। त्यसपछि आक्रमणलाई तेज बनाएको मेक्सिकोले ७३औं मिनेटमा ओरिबे पेराल्टाको गोलमार्फत अग्रता लियो। जुन खेलको निर्णायकसमेत बन्यो।

यस नतिजासँगै न्युजिल्यान्ड भने समूह चरणबाटै बाहिरिएको छ। यसै समूहका अन्य तीन टोलीको सेमिफाइनल पुग्ने सम्भावना भने कायमै रहेको छ। मेक्सिको र पोर्चुगलको समान ४ अंक भए पनि गोल भिन्नताको आधारमा मेक्सिको शीर्षस्थानमा छ। आयोजक रसिया पनि ३ अंकसहित तेस्रो स्थानमा छ।

बुधबार राति नै भएको समूह ‘ए’को दोस्रो खेलमा पोर्चुगलले पनि रसियालाई १–० ले पराजित गर्यो। खेलको नवौं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले हेडमार्फत गरेको गोल गर्दै पोर्चुगललाई जित दिलाउन पर्याप्त बन्यो। यो बाहेक पहिलो हाफमा पोर्चुगलले गोलका लागि केही उत्कृष्ट मुभहरु बनाए सफलता पाउन सकेन।

यता दोस्रो हाफमा आयोजक रसियाले केही सुधारिएको प्रदर्शन गरे पनि गोल भने गर्न फर्काउन सकेन। फरवार्ड स्मोलोभ केही राम्रो अवसरहरुमा चुक्दा रसियाले बराबरी गोल गर्न असफल रह्यो।

प्रतिक्रिया दिनुहोस्