धान नफलेपछि “डढेलो”



 

सन्तोष अधिकारी, गोरखा

सबै किसानले मानो रोपेर मुरी फलाउने आशामै खेती गरेका हुन्छन्। तर, पालुङटार नगरपालिकाका एक किसानले भने आफैंले लगाएको चैते धानलाई खेतमै आगो लगाउनुपर्यो। यसपालिको चैते धान रोपाईंका लागि कृषि अनुसन्धान परिषद् (नार्क) ले गोरखाका किसानलाई हर्दिनाथ धानको बीउ सिफारिस गरेको थियो।

‘नार्कले सिफारिस गरेकै धानले यसरी डुबायो’, पानपा ९ कुँडुलेफाँटका किसान उमेश ढकाल भने– ‘धान रोपेपछि धान फल्ला भनेको त भुस मात्रै छ। यही फाँटबाट गएको वर्ष यहाँका किसानले ५ सय मुरीभन्दा धेरै चैते धान भित्त्याएका थिए। कृषिले हर्दिनाथ धानको बीउ हामीलाई घर–घरमै ल्याएर बाँडेकाले राम्रै धान फल्छ होला भनेर लगाइयो त्यसै दुःख मात्रै भयो।’ ढकालसँगै कुँडुलेफाँटका २२ किसानले यस वर्षको चैते धान भित्त्याउनै नपाई डढेलो लगाउनुपर्यो। कृषिले सबै किसानलाई धानको बीउ अनुदानमा उपलब्ध गराएको थियो। जिल्ला कृषि विकास कार्यालय गोरखाले किसानहरूलाई ७५ प्रतिशत अनुदानमा घर–घरमै धानको बीउ उपलब्ध गराएको थियो। जिल्ला कृषि विकास कार्यालयका अनुसार सो जातको धानमा अत्यन्तै खतरनाक मानिने नेकब्लास्ट नामक रोग लागेको हो।

‘कृषिले अनुदानमा दियो भनेर सबै किसानले बीउ लिए’, उनले भने– ‘हाइब्रिड जातको धान हो धेरै फल्छ भन्ने भयो सबैलाई आखिर यस्तो भयो। धानको बाला निकाल्ने बेलासम्म त धानको नल पनि राम्रै भएको थियो। जेठको १५ गतेपछि धान पाक्ने बेलामा त केको धान पाक्नु धान पूरै भुस मात्रै। धानको सट्टा भुसको खबटा पो फल्यो।’ किसानले खेती गर्दा गरेको परिश्रम, खर्च सम्झेर दुःखेसो गरेका छन्।

हर्दिनाथ नामको सोही धान लगाइएको जिल्लाको अन्य क्षेत्रबाट पनि धानको सट्टा भुस फलेको गुनासो आएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यमकुमार श्रेष्ठले जानकारी दिए। धानको सट्टा भुसको बाला र नल (पराल) मा किरा लागेपछि किसानले खेतमै डढेलो लगाएका हुन्। परालमा अत्यधिक किरा भएकाले बस्तुभाउलाई खुवाउन नहुने भन्दै किसानले डढेलो लगाएको ढकालले बताए। कोहीले भने पराल काटेल खोलामा बर्खामा बाँध बाँध्न भन्दै थुपार्न थालेका छन्। किसानले कृषिले नै सिफारिस गरेको धानले यसरी नोक्सानी भएपछि क्षतिपूर्तिको माग गरेका छन्। उता जिल्ला कृषि विकास कार्यालय भने किसानले कृषि बीमा नगरेकाले क्षतिपूर्ति दिन नसक्ने बताउँछ।
‘कृषि बीमा नगर्ने अनि क्षतिपूर्ति माग गर्न पनि मिल्छ र?’, कृषि विकास कार्यालयका प्रमुख श्रेष्ठले भने– ‘यस पटक केही गर्न सकिँदैन। आगामी वर्ष केही त्यस्तो भयो भने सहयोग भइहाल्छ।’

प्रतिक्रिया दिनुहोस्