छोरा पाउने आशमा गयो ज्यान !



सन्तोष अधिकारी, गोरखा
भनिन्छ– ‘दुई सन्तान, ईश्वरको वरदान।’ तर, शहीद लखन गाउँपालिका–६ घैरुङकी ३२ वर्षीय विमला रोकाले यसअघि नै तीन सन्तान जन्म दिइसकेकी थिइन्। तीन पटकसम्म छोरी जन्माएकी विमला गाउँघरमा छोरो नजन्मेकै कारण अपहेलित भइरहनुपरेको थियो। तिनै विमलाको सोमबार गर्भवती अवस्थामै ज्यान गएको छ। समयमै स्वास्थ्य संस्था पुर्याउन नसक्दा र नियमित स्वास्थ्य जाँच गराउन नजाँदा उनको ज्यान गएको हो।

‘गाउँमा अरूले पनि हेप्थे’, विमलाका ससुरा चतुरबहादुरले भने– ‘तीन पटकसम्म छोरी जन्माई। छोरो जन्माउने बेला ऊ नै बितेर गई।’ विमलाको शवको पोस्टमार्टम गर्दा जुम्ल्याहा दुई छोरा रहेको जिल्ला अस्पताल गोरखाले जनाएको छ। यही असारको २५ गते सुत्केरी हुने भनेर चिकित्सकले उनको मिति तोकेको ससुरा चतुरबहादुरले बताए।

आइतबार बेलुका ५ बजेतिर विमलाको स्वास्थ्यमा समस्या आएको थियो। ‘साँझ ५ बजेतिर हो बुहारी चिच्याउन रुन थाली’, उनले भने– ‘त्यसपछि गाउँलेहरू जुटेर गोरखामा एम्बुलेन्सका लागि फोन गरें। फोन गर्दा कुनै फोन नै उठेन। कुनै एम्बुलेन्सको ड्राइभर बाहिर छु भने। केही सीप नलागेपछि गाउँमा बस थियो त्यै बस रिजर्भ गरेर गोरखा हस्पिटल ल्याइयो। यहाँ ल्याएपछि तत्कालै कि भरतपुर कि काठमाडौं लैजानु भनेर भन्यो म त छाँगाबाट खसेजस्तै भएँ। यहाँ हुन्छ भनेर ल्यायो यहीं हुँदैन भनेपछि एकछिन त हस्पिटलको चर्पीमा गएर रोएँ।’

विमलाका श्रीमान् रोजगारीको क्रममा साउदी अरेबिया छन्। विमलाका श्रीमान् कुमार चतुरबहादुरका एक्ला छोरा हुन्। गोरखा अस्पतालबाट विमलालाई उपचारका लागि गोरखा बाहिर लैजानका लागि एम्बुलेन्सका लागि मात्रै २ घण्टा कुर्नुपरेको थियो। ‘यहाँ अस्पतालको आँगनमा चार वटा एम्बुलेन्स थियो’, चतुरबहादुरले भने– ‘जुन एम्बुलेन्सको ड्राइभरलाई फोन गरे पनि कोही बिरामी छु भन्ने कोही बाहिर छु भन्ने गरे धेरैबेरपछि यही हस्पिटलको पुलिसले भनेर एम्बुलेन्स आयो र पोखरा लिएर गइयो।’

गोरखाकै मनास्लु वचत तथा ऋण सहकारी संस्थाले सञ्चालनमा ल्याएको एम्बुलेन्समा विमलालाई पोखरा लैजान लागिएको थियो।

तर, एम्बुलेन्स तनहुँको आँबुखैरेनी काटेपछि विमलाको मृत्यु भएको थियो। गोरखा अस्पतालले पनि विमलाको उपचार गर्नै नसक्ने भएर तत्कालै रिफर गरेको अस्पतालको प्रमुख डा. श्रीराम तिवारीले बताए। ‘केस असाध्यै जटिल हो’, तिवारीले भने– ‘एक त अस्पताल ल्याइपुर्याउँदा गर्भवती महिला बेहोस् थिइन्।

अर्काे उच्च रक्तचाप थियो। बच्चाहरूको दुवैको मुटुको चाल शून्य थियो। अन्य गर्भवतीभन्दा उनले धेरैपटक स्वास्थ्य जाँच गराउनुपथ्र्याे किनकि उनको पेटमा जुम्ल्याहा बच्चा थिए। त्यो पनि हुन सकेन।’ जिल्ला अस्पतालमा पोस्टमार्टम गरेपछि सोमबार नै शवको दाह संस्कारसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्