एमालेलाई कसैले रोक्न सक्दैन – बामदेव



नेपाल समाचारपत्र, बाँके । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले कांग्रेस र माओवादी केन्द्रबीचको अपवित्र र अवाच्छित गठबन्धनले देशलाई बर्बाद बनाउने बताउनु भएको छ ।

प्रेस चौतारी, बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष गौतमले सिद्धान्त नै नमिल्ने दलका बीचमा भएको गठबन्धन देशलाई बर्बाद पार्नका लागि भएको बताउनुभयो । ‘माओवादीले हेटौडा महाधिवेशनबाट कांग्रेसलाई प्रमुख शत्रु भनेको छ । त्यो परिवर्तन गरेको पनि छैन, उपाध्यक्ष गौतमले भन्नुभयो, प्रमुख शत्रुसँग नै मिलेर अगाडि बढ्नु कतिसम्म जायज हो ?’ उहाँले एमाले र माओवादीका बीचमा केही समानता रहेको बताउनुभयो ।

उपाध्यक्ष गौतमले दुई नम्बर प्रदेशमा एमालेलाई छिर्न नै नदिने गरी जति नै घेराबन्दी गरेपनि एमालेले ५० प्रतिशत बढी सीट जित्ने ठोकुवा गर्नुभयो । ‘दुई नम्बर प्रदेशमा एमालेलाई छिर्न नदिन गठबन्धन गरिएका छन्, गौतमले भन्नुभयो, तर एमालेलाई रोक्न कसैले सक्दैन, जसले गठबन्धन गरेका छन् । तिनका छोराछोरी एमाले नै छन् ।’ एमालेको नीति तथा सिद्धान्तले गर्दा देश नै एमालेमय भएको बताउदै गौतमले एमाले देशको खम्बा भएको बताउनुभयो ।

सरकारले जुनसुकै प्रदेशको चुनाव सर्दै जति बेला पु¥याएपनि एमाले ठूलै पार्टी हुने बताउनुभयो । ‘देशमा एमालेको जनलहर रहेको छ । जति नै गठबन्धन गरेर एक्ल्याउन खोजे पनि एमाले ठूलै पार्टी हुन्छ, जनताले एमालेले शासन गरेको हेर्न चाहेका छन्, गौतमले भन्नुभयो ।

बर्दियाको कार्यक्रममा जान आउनु भएका गौतम बाँकेको थुकैलामा पार्टी प्रवेश गराउन नेपालगञ्ज आएको मौका छोपेर चौतारीले पत्रकार भेटघाट गराएको थियो । थुकैलामा दुई सय बढी युवाहरु एमालेमा प्रवेश गरेको एमाले, बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्