निर्वाचन विरोधी गतिविधि रोक्न गृहमन्त्रीको निर्देशन



नेपाल समाचारपत्र, बाँके । गृहमन्त्री जनार्दन शर्माले निर्वाचन विरोधी गतिविधिलाई पूर्णरुपमा रोक्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनु भएको छ ।

प्रदेश नम्बर ५ का ६ जिल्लाका सुरक्षा अधिकारीहरु सहभागी भएको सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री शर्माले जुनसुकै चुनौती भएपनि निर्वाचनलाई भयरहित बनाउन निर्देशन दिनुभयो । राजपालाई चुनावमा ल्याउनका लागि सरकारले कानूनहरु संशोधन गरेको स्मरण गर्दै गृहमन्त्री शर्माले त्यसैको फलस्वरुप संघीय समाजवादी फोरम चुनावमा आएको र असोज २ गते हुने दुई नम्बर प्रदेशको चुनावमा राजपा पनि सहभागी हुने बताउनुभयो । ‘कानूनहरु संशोधन पछि राजपाका कतिपय नेताहरु स्वतन्त्र रुपमा चुनावमा सहभागी भएका छन्, असोज २ गतेसम्ममा कार्यान्वयनका चरण पूरा हुन्छ र समस्या समाधान हुन्छ ।’

गृहमन्त्री शर्माले सरकार मुलुकलाई द्वन्द्वतिर नभई सम्बृद्धितिर अघि बढाउन लागि परेको बताउनुभयो । मंसीरभित्र सबै चरणका निर्वाचन पूरा गरेर संविधानलाई कार्यान्वयन गर्ने र मुलुकलाई सम्बृद्धितिर लगिने शर्माको भनाई थियो ।

गृहमन्त्री शर्माले ६ जिल्लाका सुरक्षा अधिकारीहरुलाई आफ्ना ठाउँका समस्या र चुनौतीहरु प्रष्ट रुपमा राख्न आग्रह गर्नुभयो । ‘चुनावलाई भयरहित बनाउने सवालमा तपाईका ठाउँमा भएका समस्या र चुनौती के के छन्, प्रष्ट रुपमा राख्नुस्, यही या मन्त्रालयबाट के गर्नुपर्छ, हामी समाधान गर्छौ, गृहमन्त्री शर्माले भन्नुभयो, नयाँ चुनौतीहरु सामना गर्न सोच र कार्यशैलीमा रुपान्तरण आवश्यक छ ।’

गृहमन्त्रालयका सहसचिव एवं सुरक्षा समन्वय महाशाखाका प्रमुख दिपक काफ्लेले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने सवालमा जिल्लागत रुपमा हुन सक्ने सुरक्षा चुनौतीबारेमा छलफल गरेर चुस्तदुरुस्त बनाउन गोष्ठी आयोजना गरेको बताउनुभयो ।

१२ जिल्ला रहेको ५ नम्बर प्रदेशको ६ जिल्लाको बैठक बुटवलमा सकेपछि गृहमन्त्रीलगायतको टोली नेपालगञ्ज आइपुगेको थियो । गोष्ठीमा गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मी, निर्वाचन आयुक्त सुधिरकुमार शाह, क्षेत्रीय प्रशासक महेन्द्र गुरागाई, नेपाली सेनाका बलाध्यक्षरथी बलदेवराज महत, नेपाल प्रहरीका आइजीपी प्रकाश अर्याल, सशस्त्र प्रहरीका आइजीपी सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख निर्देशक दिलिप रेग्मीलगायतको उपस्थिति रहेको छ ।
गोष्ठीमा बाँके, बर्दिया, दाङ, रुकुम, रोल्पा र प्यूठानका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्