डोटीमा ६ दलद्वारा उम्मेदवारी दर्ता, दुई स्वतन्त्र



विमल विष्ट, डोटी ।
स्थानीय तहको निर्वाचनमा डोटीका स्थानीय तहहरुमा ६ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । दुई स्थानीय तहको प्रमुखमा भने स्वतन्त्रको उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन कार्यालय डोटीमा नौ राजनीतिक दलहरु दर्ता भएका भएपनि ६ दलले मात्रै उम्मेदवारी दिएका छन् । दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह रहेको यो जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जिल्लाका सवै स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय जनमोर्चाले केआईसिंह गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा र ५ स्थानीय तहमा अध्यक्ष पदमा मात्र उम्मेदवारी दिएको छ । राप्रपा नेपालले पाँच स्थानीय तहमा अध्यक्षमा उम्मेदवारी दिएको छ । नयाँ शक्तिले पूर्वीचौकी गाउँपालिकामा मात्र प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको छ । दिपायल सिलगढी नगरपालिकामा सात जनाले मेयरमा र तीन जनाले उप मेयरमा उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले जानकारी दिनु भयो । कांग्रेसका बाजी सिं खड्का ‘बिजय’ र प्रसिस महराले क्रमशः मेयर र उपमेयरमा मनोनयन दर्ता गराएका छन् । एमालेकी मञ्जु मलासीले मेयर र उपमेयरमा शिवराज खड्काले मनोनयन दर्ता गराएका छन् ।
त्यसै गरी माओवादी केन्द्रले दिपायल सिलगढी नगरपालिकामा प्रेम नेपालीले मेयरमा र तुलसी सोपले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । दिपायल सिलगढी नगरपालिकामा त्रिपक्षीय भिडन्त हुने आकलन गरिएको छ । सुदूरपश्चिमका पुराना नगरपालिकाहरु मध्येको दिपायल सिलगढीमा संघीय समाजवादी फोरमका श्रीचन्द्र श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका नरेश आले र राप्रपाका कर्ण द्वारियाले पनि मेयर पदमा उम्मेदवारी दिएका छन् । शिखर नगरपालिकामा पाँच दल र एक स्वतन्त्रले मनोनयन दर्ता गराएका छन् । कांग्रेसबाट मेयरमा सीताराम जोशी, उपमेयरमा धौली रावल, एमालेबाट मेयरमा शेर बहादुर मल्ल, उपमेयरमा राधिका बोहरा, माओवादी केन्द्रबाट मेयरमा रमेश जोशी ‘शैपाल’, उपमेयरमा चन्द्रा साउद बोहरा, राष्ट्रिय जनमोर्चाबाट मेयरमा बेणीमाधव जोशी र राप्रपाबाट मेयरमा लालवहादुर शाहीले मनोनयन दर्ता गराएका छन् भने राजप्रसाद जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
जोरायल गाउँपालिकामा पनि चार दलले मनोनयन दर्ता गराएका छन् । कांग्रेसबाट दिपक बिष्ट र भावना बम ओझाले अध्यक्ष र उपाध्यक्षमा मनोनयन दिएका छन् भने एमालेबाट दुर्गा ओझा र जमुना बोहराले अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । माओवादी केन्द्रबाट छवी ओलीले अध्यक्षमा र अनिता मल्ल देउबाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय जनमोर्चाले रमेश अवस्थीलाई अध्यक्षमा मनोनयन दर्ता गरेका छन् । सायल गाउँपालिकामा कांग्रेसबाट धर्मराज जोशीले अध्यक्ष र पुर्णमाया थापा बिष्टले उपाध्यक्षमा मनोनयन गरेका छन् भने एमालेबाट तेज बहादुर डुम्रेल र बिष्ना सिहले क्रमशः अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रका तर्फबाट बल बहादुर ओलीले अध्यक्ष र उपाध्यक्षमा रेखा मडै साउदले उम्मेदवारी दिएका छन् ।
यस्तै बड्डीकेदार गाउपालिकामा चार पार्टीले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदका लागि कांग्रेसबाट कृष्णबहादुर चन्द, एमालेबाट भक्तवहादुर साउँद, माओवादी केन्द्रबाट जंग बिक र राप्रपाबाट तुलाराम मटेलीले उम्मेदवारी मनोनयन गरेका छन । उपाध्यक्षका लागि कांग्रेसवाट ईन्द्रा बोहरा (भाट), एमालेबाट भुवन मल्ल, माओवादी केन्द्रबाट धनमाया घर्तिमगर र राप्रपाबाट ईन्द्रा बोहराले उम्मेदवारी दिएका छन् । आदर्श गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा लक्ष्मणबहादुर सिंह, उपाध्यक्षमा कृष्णा ओझा, एमालेबाट अध्यक्षमा टेकवहादुर रोकाया र उपाध्यक्षमा कमला ओझा, माओवादी केन्द्रबाट अध्यक्षमा भरत वोहरा (योगेन्द्र) र उपाध्यक्षमा सञ्जा रोकाया र राष्ट्रिय जनमोर्चाबाट रमेश नागरी अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन । राप्रपाका कुल प्रसाद ओझाले अध्यक्षमा मनोनयन दिएका छन् । चन्द्रनाथ ओझाले अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसबाट बोगटान गाउँपालिकामा दिल बहादुर बम र बिष्ना बलमे अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका छन् भने एमालेबाट टेक बहादुर बम र भगवती बमले अध्यक्ष र उपाध्यक्षमा, माओवादी केन्द्रबाट कमल गड्सिला र चन्द्रादेबी भुलले अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गरेका छन् । बोगटान गाउँपालिकामै राष्ट्रिय जनमोर्चाका धर्म सिंह बमले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
केआईसिंह गाउपालिकामा कांग्रेसबाट लोकेन्द्र शाही र मीना बिष्टले अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । एमालेबाट यज्ञराज जोशीले अध्यक्ष र निर्मला जोशीले उपाध्यक्षमा मनोनयन दिएका छन् । माओवादी केन्द्रबाट भने सिद्धराज भाटले अध्यक्षमा र शारदा बिकले उपाध्यक्षमा, राष्ट्रिय जनमोर्चाका मीन मलासीले अध्यक्ष र हरिना भण्डारीले उपाध्यक्षमा मनोनयन दर्ता दिएका छन् । राप्रपाबाट टेक बहादुर रावलले अध्यक्षमा उम्मेदवारी दिएका छन् । पूर्वीचौकी गाउँपालिकामा कांग्रेसबाट राम प्रसाद उपाध्यक्षले अध्यक्ष र माया कुँवरले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । एमालेबाट दिर्घ बोगटी र निर्मला साउदले अध्यक्ष तथा उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रबाट भने यज्ञराज गिरी र सगुनी कोली र नयाँ शक्ति नेपालबाट जगु विष्टले अध्यक्ष र जमुना थापाले उपाध्यक्षमा मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्तापछि अहिले नेताहरु आ आफना चुनावी प्रचार प्रसारलाई तिब्रता दिईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्