विमान असन्तुलित हुँदा थुप्रै यात्रु घाइते



 

बेइजिङ, (एजेन्सी)
फ्रान्सको राजधानी पेरिसबाट चीनतर्फ उडिरहेको चाइना इस्टर्न एयरलायन्सको एउटा विमान आइतबार सन्तुल गुमेर हल्लिंदा त्यसमा सवार कम्तिमा २६ जना यात्रु घाइते भएको चिनिया सरकारी समाचार निकाय सिन्ह्वाले जनाएको छ। कल साइन एमयु ७७४ बोकेको उक्त विमानमा चीनकै दक्षिणी युनान प्रान्तको कुन्मिंङतर्फ पुग्ने क्रममा सो गडबडी भएको बताइएको छ।

सिन्ह्वाका अनुसार यात्रुहरूको हड्डी भाँचिनुका साथै अन्य घाउ र चोटपटक लागेको छ। पछि चाइना इस्टर्न एयरलायन्सले अचानक विमान माथिबाट तल्लो उचाइमा झर्दा यात्रुहरूले सिटबेल्ट राम्ररी बाँधेको हुनुपर्ने जनाएको छ।
हंगकंगस्थित साउथ चाइना मर्निंग पोस्टले सो उडानमा रहेका एकजना यात्रुले अब आफू नबाँच्ने जस्तो लागिसकेको बेइवो माइक्रोब्लोगिंग साइटलाई बताएको जनाएका छन्। घाइते हुनेमध्ये अधिकांशले सिटबेल्ट नबाँधेको बुझिएको छ।

सिन्ह्वाले दश मिनेटभित्र दुईपटक निकै ठूलो र थुप्रैपटक सानो झट्का विमानमा महशुस भएको जनाएको छ। सोही क्रममा यात्रुहरूको टाउको र काँध लगेज र लगेज र्याकमा ठोकिएको थियो। र्याकबाट खसेका लगेजको कारण पनि केही यात्रुलाई चोटपटक लागेको बताइएको छ। एयरलायन्सले पेरिसको चाल्र्स डि गल्ले विमानस्थलबाट उडेको सो एयरबस ए ३३० विमान कुन्मिङमा सकुशल अवतराण भएको पनि जनाएको छ।

गत साता मात्र सोही एयरलायन्सको अस्ट्रेलियाबाट चीनको सांघाईतर्फ उडेको विमानको इन्जिनको खोलमा प्वाल भेटिएपछि त्यसलाई तत्काल सिडनी फर्काइएको थियो। त्यसबेला यात्रुहरूले विमानमा केही चिज गन्हाएको चाल पाएका थिए।

प्रतिक्रिया दिनुहोस्