१ सय ८ विद्यार्थीलाई सैन्य तालिम



 

काभ्रे, (नेस)
जिल्लाका तीन विद्यालयका १ सय ८ बालबालिकालाई राष्ट्रिय सेवा दलबाट सञ्चालन हुँदै आएको जुनियर डिभिजन एनसीसी तालिम दिन शुरू गरिएको छ। सैन्यलगायत मानवीय र सामाजिक क्षेत्रका बारेमा बालबालिकालाई तीनमहिने तालिम दिइनेछ।

जिल्लाको एसओएस बालग्राम र डिभाइनलाइटमा पनि आइतबारबाटै उक्त कार्यक्रम शुरू भएको छ। उक्त तालिममा प्रत्येक विद्यालयका ३६ जना कक्षा ८ देखि १० सम्मका छात्रछात्रा सहभागी गराइएको छ। विष्णुदल गण धुलिखेलले राष्ट्रिय सेवादलबाट सञ्चालित ४४ जुनियर डिभिजन एनसीसी तालिम जिल्लाका तीनवटा विद्यालयमा शुरू गरेको हो। प्रथम प्रवचनसहितको कार्यक्रम बनेपाको बेलर इन्टरनेसल एकेडेमीमा शुरू भएको छ, प्रत्येक विद्यालयमा ३ महिने तालिम दिएपश्चात विद्यार्थी उक्त डिभिजनका लागि तयारी हुन्छन्। तालिमका लागि न्यूनतम मापदण्ड पूरा भएका बालबालिका मात्रै छनोट गरिएको थियो। तालिममा सैन्य ज्ञान, विषद् व्यवस्थापन, सरसफाइ तथा वातावरणलगायतका विषयमा जानकारी गराइन्छ। विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम नेपाली सेनाले २०२२ साल कात्तिक ७ गतेबाट शुरू गरेको थियो। लामो समयसम्म उक्त तालिममा ५ सयले भन्दा तालिम प्राप्त गर्न सकेका थिएनन्।

आर्थिक वर्ष २०७२⁄२०७३ बाट नेपाली सेनाले पुनः उक्त तालिम दिन शुरू गरेको थियो। अघिल्लो आर्थिक वर्षमा काभ्रेमा पनि केही विद्यालयमा उक्त तालिम दिइएको थियो। उक्त तालिम पछिल्लो समयसम्म २६ हजार ८ सय ३८ जनाले लिइसकेका छन्। आगामी वर्षसम्म ७ हजार ५ सय थप विद्यार्थीलाई दिइनेछ। कक्षा ८–१० सम्मका बालबालिकाका लागि जुनियर तालिम दिइनेछ भने कक्षा ११ र १२ का विद्यार्थीका लागि सिनियर तालिम दिइनेछ। उक्त तालिमपश्चात बालबालिकाले जीवनमा नेपाली सेना र नेपाल प्रहरीमा समेत जान चाहेको अवस्थामा सहज हुनेछ।

कार्यक्रममा बोल्दै विष्णु दल गण धुलिखेलका गणपति रामहरि केसीले विद्यार्थीको साहसिक क्षमतालाई व्यवहारमै देखाउन, समाज र मानवीय सेवामा समर्पित गर्न, गुणस्तरीय शिक्षालाई मानवीय सेवामा समर्पित गराउन महत्त्वपूर्ण हुने बताए। कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले मान्छे स्वस्थ हुन नियमित तालिम र व्यायाम आवश्यक भएकाले विद्यालय स्तरमै शुरू गरिएको यस्तो तालिमले बालबालिका मानसिक रूपमै स्वस्थ हुने बताए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाले बालबालिकालाई शिक्षामा मात्रै जोड नदिई समग्र क्षेत्रमा नै सहभागी गराउँदै लगिएकाले उक्त तालिम विद्यालयमा शुरू गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्