राजी समुदायलाई वन हस्तान्तरण



 

हेमन्त पौडेल, कैलाली
राजी समुदायका मानिसले संरक्षण गर्दै आएका तीन सामुदायिक वन जिल्ला वन कार्यालय कैलालीले आइतबार एक कार्यक्रमका आयोजना गरेर हस्तान्तरण गरेको छ। भजनी नगरपालिका–९ को भुरुवामा रहेका तीन सामुदायिक वन लोपोन्मुख राजी जातिका मानिसले २०५७ सालदेखि संरक्षण गर्दै आएका थिए। आफूहरूले संरक्षण गरेको वन हस्तान्तरणका लागि बारम्बार आग्रह गरे पनि हालसम्म हस्तान्तरण नभएको स्थानीय बासिन्दाले बताएका छन्।

नेपालमा सबैभन्दा बढी जनसंख्या रहेको भजनी–९ भुरुवाका राजी समुदायले सोही स्थानमा तीनवटा सामुदायिक वन बनाएका थिए। सिद्धबाबा, सृजनशील र सोनपाल सामुदायिक वन उपमोक्ता समूह भुरुवामा आयोजना गरेको एक कार्यक्रमका बीच कैलालीका जिल्ला वन अधिकृत डा. राजेन्द्र केसीले हस्तान्तरण गर्नुभयो। केसी जिल्ला वन अधिकृत भएर आएपछि सो क्षेत्रको स्थलगत भ्रमण गरेर स्थानीय वस्तुस्थिति बुझेर वन हस्तान्तरण गर्ने निर्णयमा पुग्नुभएको हो। उहाँले स्थानीयको सक्रियता र उनीहरूको वनप्रतिको माया देखेर राजी समुदायले वनको संरक्षण गर्न सक्छन् भन्ने लागेर वन हस्तान्तरण गरेको बताउनुभयो।

सो अवसरमा बोल्दै लोपोन्मुख जातिको बढी बसोबास रहेको क्षेत्रका जनताले सामुदायिक वन संरक्षण गरेर स्थानीय समस्यासमेत समाधानको काममा लाग्ने र जनताको विकासमा समेत टेवा पुर्याउने प्रतिबद्धता जनाएपछि तीनवटा सामुदायिक वनलाई एकै दिन हस्तान्तरण गर्ने निर्णय गरेको उहाँले सो अवसरमा बताउनुभयो। तीनवटै सामुदायिक वन एकै वार्डमा रहेका छन्। शनिबार हस्तान्तरण गरिएको सृजनशीलको ४९.६५ हेक्टर, ९०.९३ हेक्टर र सिद्धबाबाको ७३.२८ हेक्टर क्षेत्रफलमा रहेको छ। जिल्ला वन अधिकृत गाउँमै पुगेर वन हस्तान्तरण गरेकोमा स्थानीय बासिन्दा खुसीले गदगद भएका छन्। जिल्ला वन अधिकृत केसीले राजी समुदायका मानिसले गरेको हिम्मतको प्रशंसा गर्दै आफ्नो तर्फबाट गर्नसक्ने सबै सहयोग गर्ने बचनसमेत दिनुभएको छ। सानातिना समस्याहरू आएमा जिल्ला वन अधिकृत केसीले सीधै आफूलाई सम्पर्क गर्न भनेपछि झन् उनीहरू उत्साहित भएका छन्।

प्रतिक्रिया दिनुहोस्