विप्लव समूहद्वारा कांग्रेसका वडा सदस्यका उम्मेदवारको अपहरण, अन्य स्थानमा मनोनयन दर्ता जारी (तस्वीरसहित)



रविन भट्टराई-ताप्लेजुङ ।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर २ खेजेनिमबाट वडा सदस्यका उम्मेदवार उठ्न मनोनयन दर्ता गर्न हिंडेका एकजनालाइ बिप्लव माओवादीका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् ।

नेपाली काँग्रेसबाट वडा सदस्य पदको उम्मेदवारी दर्ता गर्न खेजेनिमबाट गाउँपालिकाको केन्द्र तापेथोक तर्फ जादै गरेका मनकुमार पतङ्वालाइ बिप्लव माओवादीका कार्यकर्ताले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले जानकारी दिए ।

केसीले घटनाका बारेमा जानकारी लिने र उद्धारका लागि प्रहरी खटाएको बताए ।

मनोनयन दर्ताका दिन आइतवार यो बाहेक शान्तिपुर्ण ढंगले दर्ता कार्य जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत अशोकुकमार बस्नेतले फुङ्लिङ नगरपालिका सहित अरु ८ वटै गाउँपालिकामा शान्तिपूर्ण ढंगले मनोनयन दर्ता कार्य जारी रहेको जानकारी दिए ।

 

उनका अनुसार फुङ्लिङ नगरपालिकामा बिहान १० बजे देखि मात्र मनोनयन दर्ता सुरु भएको थियो भने अन्य गाउँपालिकाका भने बिहान ८ः १५ बजेबाट दर्ता सुरु भएको हो ।

नगरपालिकाको मेयर पदमा अहिले सम्म एमालेका छत्रपति प्याकुरेल र स्वतन्त्र उम्मेदवार छबिन्द्र गुरुङले मनोनयन दर्ता गरि सकेका छन् । उप मेयर पदमा एमालेका बिमला सुब्बाको उम्मेदवारी दर्ता भएको छ । बिहान १० बजे देखि पहिलो दर्ता गर्ने समय एमालेलाइ दिएको थियो ।

एमालेको दर्ता सकिए लगत्तै नेपाली काँग्रेस र त्यसपछि माओवादी केन्द्र हुदै क्रमश राप्रपा र नयाँशक्ति, संघीय समाजवादी फोरम नेपाल, संघीय लिम्बूवान मञ्च र राष्ट्रिय जनमुक्ति पाटीका उम्मेदवारलाइ मनोनयन दर्ताको समय दिइएको छ ।

सिरीजङ्घा गाउँपालिकामा बिहान सभा ८ बजे काँग्रेसका टीकाराम गुरुङ र याङ्वरक गाउँपालिकामा सभा ९ बजे एमालेका केशरकुमार मेन्याङ्वोले उम्मेदवारी दर्ता गरेको र अन्यको दर्ता कार्य जारी रहेको समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फुङ्लिङ नगरपालिकामा ५७ पदका लागि, सिरीजङ्घामा ४२, सिदिङ्वा गाउँपालिकामा ३७, याङ्वरकमा ३२, मिक्वाखोलामा २७, मैवाखोला र मेरिङ्देनमा ३२, फक्ताङ्लुङमा ३७ र आठराइ त्रिवेणीमा २७ पद गरी कुल ३ सय २३ पदका लागि उम्मेदवारी दर्ता सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्