भानुआटुका राष्ट्रपतिको निधन



 

पोर्टभिला, (एजेन्सी)
भानुआटुका राष्ट्रपति बाल्डिविन लोन्स्डेलको ६७ वर्षको उमेरमा शनिबार हृदयाघातको कारण निधन भएको सरकारी अधिकारीहरुले बीबीसीलाई बताएका छन्। एन्ग्लीकन पादरी लोन्स्डेल सन् २०१४ को सेप्टेम्वरदेखि उक्त प्रशान्त महासागरको प्रायद्विपमा परेको राष्ट्रका नेताको भूमिका निभाउँदै आएका छन्।
उनको शनिबार मध्यरातितिर राजधानी पोर्ट भिलामा अचानक मृत्यु भएको दि भानुआटु डेली पोस्टले जनाएको छ। अस्ट्रेलियाका गभर्नर जनरल पिटर कोस्ग्रोभले भानुआटुका जनतामाझ निकै लोकप्रिय र सम्मानित उनले जनताको पूर्ण सम्मान र मानवताका साथ सेवा गरेको प्रतिक्रिया दिएका छन्।

सन् २०१५ को मार्चमा भीषण सामुद्रिक आँधी पामको कारण विस्थापित हुन पुगेका करिब ७५ हजार जनताको पुनर्वास र पुनस्र्थापनाका लागि उनी निकै लगनशीलतापूर्वक लागिपरेका थिए। सोही वर्षको अक्टोबरमा आफ्नै सहायक अर्थात् उप राष्ट्रपति भ्रष्टाचार काण्डमा मुछिएपछि उनले राष्ट्रबाट भ्रष्टाचार उन्मूलनै गर्ने प्रतिवद्धता जनाएका थिए।

सन् २०१६ को तथ्यांकअनुसार २ लाख ७८ हजार जनसंख्या रहेको यस राष्ट्रका जनता बिस्लामा, अंग्रेजी र फ्रेन्च भाषा बोल्ने गर्दछन्। कूल गाहस्र्थ उत्पादन ७ सय ७३ अमेरिकी डलर रहेको यहाका जनताको औसत आयु ७५ वर्ष एक महिना (महिला) को र ७१ वर्ष ८ महिना (पुरुष)को रहेका छन्।

प्रतिक्रिया दिनुहोस्