रोहिणीराज तिमिल्सिना
नेपालको वैदिक धर्म, संस्कृति र नेपाली मौलिकताका पक्षमा प्रबल विनिगमनाका साथ प्रस्तुत हुनसक्ने विचित्र सामथ्र्य उनमा थियो। स्वधर्म, भाषा र संस्कृतिका विषयमा उनका अभिव्यक्तिहरू यति तर्कपूर्ण र हृदयस्पर्शी हुन्थे कि, त्यो सुन्ने कुनै पनि श्रोता असन्तुष्ट हुनुपर्दैनथ्यो।

‘भाषा जुनसुकै बोल, नेपाली बोल, जर्मन बोल, फ्रेन्च बोल, या त अङ्ग्रेजी नै बोल, केही मतलब छैन। संस्कृतग्राम भनेको त्यो शैक्षणिक ग्राम हो, जहाँ संस्कृतको विज्ञानसम्मत अध्ययन, अध्यापन र अनुसन्धान हुनेछ, जहाँ संस्कृतको प्रायोगिक अभ्यास गरिनेछ।’
– जनार्दन घिमिरे

के शिक्षित, के अल्पशिक्षित, के अध्येता, के अध्यापक, के संसारी, के साधक, उनको वाक्कलामा समग्र जनसमुदाय मन्त्रमुग्ध हुन्थे। रेडियो कान्तिपुरको प्रातःकालीन भक्ति–अनुष्ठानबाट उनी लाखौँ श्रोताका मन–मुटुमा रहन सफल थिए। वस्तुतः उनी कान्तिपुर रेडियो–मार्फत कुनै एकोहोरो धार्मिक कार्यक्रम नभएर आध्यात्मिक एवं भाषिक अनुष्ठान चलाउने गर्थे।

सांस्कृतिक समन्वयात्मकताको सञ्चारदेखि, धार्मिक धर्मरताको विध्वंस अनि संस्कृतको समुन्नति, राष्ट्रको आध्यात्मिक ऋद्धि र वैदिक संस्कृतिको समृद्धिसम्मका विषयले उनको प्रातःकालीन अनुष्ठानमा स्थान पाउँथे। अनुष्ठानमा उनी विद्वत्समुदायबीच कहिले धार्मिक संस्कारका विषयमा संवाद चलाउँथे त कहिले स्वधर्मको सञ्चारका निम्ति स्वामी चन्द्रेश–जस्ता सन्तहरूलाई स्टुडियोमै स्वागत गर्ने गर्थे। उनी हुन् संस्कृतका अविश्रान्त योद्धा स्व. जनार्दन घिमिरे, जसको एक महिनाअघि गाडी दुर्घटनामा परेर अल्पायुमै निधन हुन पुग्यो।

संस्कृतको अभियान ः
‘नेपालमा शैक्षिक क्रान्ति भएकै छैन’ भन्ने स्व. जनार्दन घिमिरे मौलिक संस्कृत–वाङ्मयको मार्गबाट देशमा शैक्षिक क्रान्ति गर्न चाहन्थे। आफ्नो धर्ती–सुहाउँदो शिक्षानीति नबनाएसम्म देशमा शैक्षिक क्रान्ति सम्भव नरहेको उनको दाबी थियो। विदेशी शैक्षिक संस्थाहरूबाट नक्कल गरिएको शिक्षापद्धतिले नेपालको शैक्षिक, आर्थिक, सामाजिक र आध्यात्मिक स्तरको अभिवृद्धि असम्भव भएको कुरामा उनी सन्देहशून्य दखिन्थे।

नेपालका अन्य परम्परित शिक्षापद्धतिको कुरो छाडौँ, संस्कृतमा समेत ‘अब कर्मकाण्ड हैन, साइन्स पढाउनुपर्छ, संस्कृतमा फिजिक्स, केमेस्ट्री र बायो पढाइनुपर्छ’ भन्ने उनको बुलन्द उद्घोष थियो। त्यसैले त उनकै सक्रियतामा त्रि.वि. संस्कृत केन्द्रीय विभागले एम्.ए.का लागि एप्लाइड संस्कृतको कोर्स ‘कारुसंस्कृतम्’को संरचनासमेत तयार पारेको थियो।

महामन्त्र गायत्रीका द्रष्टा कौशिक विश्वामित्रको साधनाभूमि कोशी–किनारक्षेत्र, सावित्रीका द्रष्टा महर्षि वशिष्ठको साधनाभूमि गण्डकी–किनारक्षेत्र अनि व्याहृतिका द्रष्टा सिद्धनाथ वामदेवमुनिको तपोभूमि कर्णाली–किनारक्षेत्रमा जागृत सर्सपरी, ब्राह्मी र सौरी विद्याका साथै जनकपुरको मूल विदेहविद्या एवं हलविद्या तथा लुम्बिनीको बोधिविद्याका आधारमा संस्कृतवाङ्मयमै विज्ञानसम्मत नवीन शिक्षानीतिको धरातल निर्माण गर्न सकेमा नै समग्र विश्वलाई यस देशतर्फ आकृष्ट गर्न सकिने विचार उनको थियो। यस विचारलाई उनले आफ्ना हरेक स्थानका प्रत्येक वक्तव्यको एक प्रमुख अङ्ग नै बनाएको देखिन्थ्यो।

काशी जाऊन् या दक्षिणभारत, थाइल्यान्ड जाऊन् या बेइजिङ, विदेशी धर्तीका कार्यक्रमहरूमा त झनै गौरवबोधका साथ उनी आफ्नो संस्कृत–अभियानको डिण्डिमघोष गर्ने गर्थे। संस्कृतको अभियानकै सन्दर्भमा दुई वर्षअघि दक्षिणभारत जाँदा त्यहाँ सुरभारतीको एक संस्कृतविद्वत्सभामा उनले दिएको नेपालको महिमागान–सहितको संस्कृतविषयक अभिव्यक्ति मेरो मस्तिष्कमा अझै ताजै छ।

निजी विद्यालयहरूमा संस्कृतशिक्षाको प्रारम्भका लागि नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग, वाग्मती कलेज सुकेधारा, जनप्रेमी विद्यालय कौशलटार अनि संस्कार पाठशाला चौराहा बुटवल आदि स्थानहरूमा उनकै नेतृत्वमा अभिमुखीकरण कार्यक्रमहरू आयोजना गरी प्रधानाचार्य, शिक्षक, अभिभावकहरूलाई उत्प्रेरित गर्दै हिँडेको पनि भर्खरै–जस्तो लाग्छ। उनको देहावसान भएको यथार्थलाई मेरो अन्तःकरणले भने अझै पनि स्वीकारिरहेको स्थिति छैन।

प्रातःकालीन भक्ति–अनुष्ठानका माध्यमबाट ज्यादै लोकप्रिय बनेका स्व. घिमिरे दयानन्द एङ्लो वैदिक विद्यालय (डीएभी) जावलाखेलमा शुरुवातदेखि नै संस्कृत विभागीय प्रमुख रही गत सात वर्षदेखि प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत थिए भने गत पाँच वर्षदेखि त्रि.वि. संस्कृत केन्द्रीय विभागमा उनले उपप्राध्यापकको भूमिकासमेत निर्वहन गरिरहेका थिए।

‘जनार्दनलाई डीएभीले स्थान दिएको हो र उनीबाट पनि डीएभीलाई केही योगदान पुगेकै हो’ भन्ने घिमिरे–परिवारकै एक सदस्यको भनाइलाई काट्दै उनको देहावसान भएको बाह्रौँको कार्यक्रममा आएकी विद्यालयकी प्राचार्या भुवनेश्वरी रावले भनिन्– ‘जनार्दन सरबाट पनि डीएभीलाई केही योगदान पुगेकै हो’ भनेर तपाईं उहाँको विशिष्ट योगदानको अवमूल्यन नगर्नूस्, उहाँ डीएभीको पिल्लर हो।’ जीवनको आधाभन्दा पनि अधिकत्तर समयसम्म आफ्नो संस्थाको सार्वत्रिक समुन्नतिका निम्ति मरिमेटेर लाग्ने स्व. घिमिरेको समर्पणभावको अवमूल्यनलाई यसरी प्रतिकार गर्ने डीएभीले उनको त्यो समर्पणभाव र अनवरत योगदानको राम्रै मूल्य चुकाउने अनुमान समाजले गरिरहेको छ।

कान्तिपुर एफएम, डीएभी र त्रिभुवन विश्वविद्यालय गरी तीन संस्थाका यी तीन पदहरू अलग–अलग प्रतीत भए तापनि यी पदमा रहेर कार्य गरिरहँदा समेत उनका हरेक कार्यगत चेष्टा र शैलीहरूमा संस्कृतकै पक्षधरता झल्कन्थ्यो। यी तीन कार्यालयीय कार्यदेखि अतिरिक्त समयमा पनि उनी स्वधर्म, स्वसंस्कृति र संस्कृतकै समुन्नयका कार्यहरूमा अहर्निश लागिरहन्थे।
संस्कृतग्रामको परिकल्पना ः

उनको संस्कृतग्रामको परिकल्पना भारतका मतूर, मोहम्मद, होसहल्ली, श्यामसुन्दर आदिझैँ केवल संस्कृतभाषी ग्रामको सपना थिएन। उनी भन्ने गर्थे– ‘भाषा जुनसुकै बोल, नेपाली बोल, जर्मन बोल, फ्रेन्च बोल, या त अङ्ग्रेजी नै बोल, केही मतलब छैन। संस्कृतग्राम भनेको त्यो शैक्षणिक ग्राम हो, जहाँ संस्कृतको विज्ञानसम्मत अध्ययन, अध्यापन र अनुसन्धान हुनेछ, जहाँ संस्कृतको प्रायोगिक अभ्यास गरिनेछ।’

आफ्नो विद्यार्थीकालमा स्ववियु–सदस्य र पछि नेविसंघका जिल्ला सभापतिसमेत चुनिएका उनी संस्कृतको अभियानमा लागिसकेपछि भने ‘मेरो पार्टी भनेको संस्कृतपार्टी हो, त्यसैले जसले मेरो संस्कृत–अभियानलाई समर्थन गर्छ, साथ दिन्छ, त्यही मेरो पार्र्टी हो’ भन्ने गर्थे। पछिल्लो समयमा राजनीतिमा खासै खुलेर नलागे पनि स्थानीय स्तरको निर्वाचनमा मतदान गर्नका लागि गत वैशाख २८ गते आफ्नी बहिनी, पत्नी र वृद्ध आमा–बुबासहित संस्कृतग्रामको थालनी गरिएको जिल्ला दोलखातर्फ प्रस्थान उनी गरेका थिए। त्यही यात्रामा भएको त्यस दिनको दुर्घटनाका कारण तत्काल बाबु–आमा गुमाएर उपचाररत अवस्थामा रहेका उनलाई समेत त्यसको चार दिनपछि नियतिको हुरीले उडाई लग्यो।

यथार्थमा धर्मको मर्म बुझेको एक कुशल धार्मिक वक्ताको अन्त्य भएको छ, वैदिक संस्कृतिको आभ्यन्तर केलाइदिएर सांस्कृतिक एकताको पाठ पढाउन सक्ने सचेतकको अवसान भएको छ र संस्कृतका एक निर्भीक एवं अविश्रान्त व्यक्तित्वको स्थायी विश्रान्ति भएको छ। समाज, देश र समग्र संस्कृतजगत्ले नै एक होनहार प्रबुद्ध व्यक्तित्व एवं संस्कृतका अविश्रान्त योद्धालाई गुमाउनुपरेको छ। उनको संस्कृतको अभियानलाई साकार तुल्याउन सकेमा नै एक सच्चा संस्कृतभक्तको पवित्र आत्माले वास्तविक विश्रान्ति पाउने थियो होला।

स्व. घिमिरेको तेह्रौँ पुण्यतिथिको श्रद्धाञ्जलि–सभामा इतिहासविद् दीर्घराज प्रसार्इंले भनेझैँ असल कार्य गर्नेले मार्बलमा नाम लेखाइरहनुपर्दैन। उसले त समाजका हरेक मनहरूमा आफ्नो नाम लेखाइसकेको हुन्छ। स्व. घिमिरे आफ्ना सत्प्रयास, सदाचरण एवं संस्कृत र संस्कृतिको समुन्नयनजस्ता असल कार्यद्वारा हाम्रा मनहरूमा अमिट छाप छोड्न सफल छन्। त्यसैले संस्कृतजगत्लाई मात्र नभएर नेपाली समाजका धार्मिक, आध्यात्मिक, शैक्षिक, सांस्कृतिक, भाषिक आदि विविध पक्षमा उनले ठूलो गुन लगाएका छन्। त्यही गुनका कारण उनी हाम्रा मन–मस्तिष्कमा रहन सफल छन्। उनको गुन हामी नेपालीलाई मात्र नभएर उनको पुस्तक शब्द–सन्दोहमार्फत् विश्वसंस्कृतजगत्लाई नै लागेको छ। त्यसैले विश्वको संस्कृतको इतिहासमा उनको नाम स्वर्णाक्षरले लेखिनेछ। मानवीय भाषाहरू रहेसम्म विश्वभाषाहरूमा अनुस्यूत संस्कृत पनि रहनेछ र संस्कृत रहेसम्म संस्कृतका अविश्रान्त योद्धा स्व. जनार्दन घिमिरेको नाम यस धर्तीमा अमर रहनेछ।

 

 

 

LEAVE A REPLY