प्रदेश र संघीय चुनाव मंसिरमा एकैसाथ ः महरा



दाङ, (नेस)
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रदेश र संघीय चुनाव एकैसाथ आगामी मंसिरमा हुने बताउनुभएको छ। स्थानीय तहको चुनाव पटकपटक सार्ने स्थिति आउनु दुःखद भएको बताउँदै उहाँले अब असोज २ गतेको तेस्रो चरणको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताउनुभयो।

‘हामीले देशभरि वैशाख ३१ गते नै निर्वाचन गर्ने स्प्रिटका साथ चुनाव मिति घोषणा गरेका हौं’– शुक्रबार घोराहीमा नेपाल समाचारपत्रसंग कुराकानी गर्दै उहाँले भन्नुभयो– ‘मधेसी दललाई सहमतिमा ल्याउन चार प्रदेशमा जेठ ३१ का लागि घोषणा गरियो, फेरि उनीहरूले केही दिन मागेपछि असार १४ लाई सारियो, अहिले फेरि प्रदेश नम्बर २ मा दुर्घटना हुने देखेर असोज २ गते सारिएको हो।’ राजपाकै सहमतिमा असोज २ गतेको मिति सारिएकाले अब कुनै पनि हालतमा यो चुनाव नसर्ने र कुनै हालतमा उनीहरू सहमतिमै नआए पनि चुनाव हुने मन्त्री महराले बताउनुभयो।

स्थानीय चुनाव सरेकाले प्रदेश र संघीय चुनावको तयारी गर्न केही समस्या हुने भए पनि अब यी दुबै चुनाव मंसिरभन्दा उता नजाने उहाँले बताउनुभयो।

‘मेरो विचारमा अब मंसिरमा प्रदेश र संघीय निर्वाचन एकैसाथ हुन्छ, समय र खर्च व्यवस्थापनका हिसालबे पनि यही उपयुक्त हुनेछ’– उहाँले भन्नुभयो।

केही समयअघि प्रमुख दलहरूबीच कार्तिक–मंसिरभित्र दुबै तहको निर्वाचन सम्पन्न गर्ने सहमति भएकाले पनि अब दुबै तहको निर्वाचन मंसिरभन्दा उता लैजाने नहुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्