रोनाल्डोको रियल छाड्ने चेतावनी



मेड्रिड, (एजेन्सी)
कर छलीको आरोप लागेपछि रियल मेड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुःखी भएर क्लब छाड्ने चेतावनी दिएको स्रोतले जनाएको छ।

बीबीसीले जनाएअनुसार स्पेनी वकिलहरुले ३२ वर्षीय रोनाल्डोमाथि लाखौं युरोको कर छली गरेको आरोप लगाउँदै आएको छ। रोनाल्डोले असल चरित्र भएको इमानदारीका साथ महसुस गरेका तर पनि सबै ठिकठाक हुँदा हुँदै पनि आरोप लगाएको उनले बुझ्न नसकेको स्रोतले जनाएका छन्। उनका प्रतिनिधिले जनाए– ‘उनी ज्यादै दुःखी र साँच्चिकै निरास छन्।’

रोनाल्डो स्पेनी ला लिगा क्लबमा म्यानचेस्टर युनाइटेडबाट सन् २००९ मा ८ करोड पाउन्डको सम्झौतामा आबद्ध भएका थिए। उनले नोभेम्बर २०१६ मा पाँच वर्षको सम्झौतापत्रमा हस्ताक्षर पनि गरिसकेका छन्। उनी रियल मेड्रिडमा सन् २०२१ सम्म बुक भएका छन्।

स्रोतका अनुसार पोर्चुगिजको गन्तव्य चीन हुन सक्नेछ। तर उनको सल्लाहकारहरुले उनलाई युरोपमै बस्न भनिरहेका छन्। या त प्रिमियर लिग या त पेरिस सेन्ट जेर्मेन ठिक हुने भन्नेहरु पनि छन्।

गत सिजनमा उनले रियललाई च्याम्पियन्स लिगमा र ला लिगामा च्याम्पियन बनाएका थिए।

उनीमाथि २०११ र २०१४ बीचमा १ करोड ४७ लाख युरो (१ करोड ६० लाख डलर बराबरी) ठूलो रकमको कर छली आरोप छ। यसअघि बार्सिलोनाका फरवार्ड लियोनल मेसीमाथि यस्तै आरोप सही ठहरेर २१ महिनाको जेल सजाय सुनाइसकेको थियो।

उता रियल मेड्रिडले वक्तव्य निकालेको छ। जसमा उल्लेख थियो कि उनीहरुको खेलाडीमाथि पूरै आत्मविश्वास रहेको र उनले आफू निर्दोष भएको प्रमाणित गर्नेछन्। सन् २०१६–१७ मा रोनाल्डोले २०१२ पछि पहिलो पटक रियललाई स्पेनी उपाधि जित्न र च्याम्पियन्स लिग उपाधि रक्षा गर्न सहयोग गरेका थिए।

रोनाल्डोले गएको सिजनमा सबै प्रतिस्पर्धामा गरेर १ सय ५ कीर्तिमानी गोल गरेका छन्। यो उनका निकटम प्रतिद्वन्द्वी मेसीको भन्दा ११ गोल बढी थियो।

प्रतिक्रिया दिनुहोस्