लालीगुराँस र ग्रिनल्यान्ड च्याम्पियन



नेपाल समाचारपत्र,काठमाडौं

आयोजक लालीगुराँस नेसनल एकेडेमी ‘ए’ र ग्रिनल्यान्ड तेस्रो लालीगुराँस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेका छन्।

जुनियर ब्वाइजको फाइनलमा लालीगुराँसले सामाखुसी इंग्लिस बोर्डिङ स्कुल (सेब) लाई ३१–२३ ले पराजित गरेर उपाधि जित्यो। विजेता टोलीका लागि सर्जन महतारा र प्रिन्स केसीले समान १०–१० अंक जोडे।

पहिलो र दोस्रो क्वार्टरमा क्रमशः २–३ र ७–९ ले पछि परेको स्थितिलाई उल्ट्याउँदै लालीगुराँस दोस्रोपटक च्याम्पियन बन्न सफल भयो। पहिलो संस्करणको विजेता लालीगुराँसले तेस्रोमा १०–४ र चौथोमा १२–७ को अग्रता बनाउँदै उपाधि सुनिश्चित गर्यो।

सिनियर गल्र्सको उपाधि भिडन्तमा ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमीलाई २०–१९ को झिनो अन्तरले हरायो। ग्रिनल्यान्डको जितमा प्रमिला जागरीले ८ अंक योगदान गरिन्। पहिलो क्वार्टरमा ५–१० ले पछि परेको ग्रिनल्यान्ड दोस्रोमा ९–५ को अगाडि रयो।

तेस्रो क्वार्टर २–२ को बराबरीमा टुंगिएको अवस्थामा ग्रिनल्यान्ड अझै समग्रमा १ अंकले पछि थियो। चौथो क्वार्टरमा ४–२ को प्रदर्शन गर्दै ग्रिनल्यान्ड उपाधि चुम्न सफल भयो।

ब्वाइजमा लालीगुराँसका प्रिन्स केसी र गल्र्समा ग्रिनल्यान्डकी प्रियंका खड्का ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए।

सो अवसरमा लालीगुराँसलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकले आफ्ना प्रशिक्षकद्वय सुनील केसी र मिलाप पुनलाई १० हजार नगदबाट सम्मान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्