एसईई नतिजा सार्वजनिक



नेपाल समाचारपत्र,काठमाडौं
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।
८४ वर्ष लामो इतिहासमा एसएलसी परीक्षाको नाम परिवर्तन गरी एसईई राखिएको हो।

परीक्षा सञ्चालन भएको ३ महिनापछि शुक्रबार बिहान सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५ सय ६४ र एक्जाम्टेडतर्फ १६ हजार ५ सय ७२ जना सहभागी भएका छन्।

नियमिततर्फ छात्राको संख्या बढी देखिएको छ। नियमिततर्फ २ लाख २१ हजार ६ सय २२ छात्रा र २ लाख २१ हजार ६ सय ८२ छात्र रहेका छन्। छात्राको संख्या २२ हजार बढी रहेको पनिकाले जनाएको छ। गत वर्षको भन्दा १ लाख ३२ हजार ५ सय ८८ परीक्षार्थी कम छन्। गत वर्ष ५ लाख ८८ हजार १ सय ५२ हजार परीक्षार्थी सहभागी भएका थिए।

३ दशमलव ६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याउने १२ हजार २ सय ८४, ३ दशमलव २५ देखि ३ दशमलव ६० जीपीए ल्याउने ४२ हजार ४ सय २७, २ दशमलव ८५ देखि ३ दशमलव २० जीपीए ल्याउने ५० हजार ६ सय ४६, २ दशमलव ४५ देखि २ दशमलव ८० जीपीए ल्याउने ६१ हजार ९ सय ५५, २ दशमलव ५ देखि २ दशमलव ४० जीपीए ल्याउने ९१ हजार ३ सय १४, १ दशमलव ६५ देखि २ दशमलव ० जीपीए ल्याउने १ लाख ८ हजार ४ सय ६४, १ दशमलव २५ देखि १ दशमलव ६० जीपीए ल्याउने ६४ हजार ५ सय ७७, शून्य दशमलव ८ देखि १ दशमलव २ ल्याउने ११ हजार २ सय ८५, शून्यदेखि शून्य दशमलव ८५ ल्याउने १५ विद्यार्थी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

तथ्याङ्कअनुसार १२ हजार २ सय ८४ विद्यार्थीले ‘ए’ प्लस ग्रेड पाएका छन्। ४२ हजार २ सय ४७ ले ‘ए’, ५० हजार ६ सय ४६ ले ‘बी’ प्लस, ६१ हजार ९ सय ५५ ले ‘बी’, ९१ हजार ३ सय १४ ले ‘सी’ प्लस, १ लाख ८ हजार ४ सय ६४ ले ‘सी’, ६४ हजार ५ सय ७७ ले ‘डी’ प्लस, ११ हजार २ सय ८५ ले ‘डी’ र १५ जनाले ‘ई’ ग्रेड प्राप्त गरेका छन्।

परीक्षा नियन्त्रक रेग्मीले जीपीए भनेको ग्रेड नभए पनि प्राप्ताङ्क र प्रतिशतको आधारमा गे्रडिङमा परिवर्तन गर्न सकिने बताउनुभयो। परीक्षामा उमेर नपुगेका २ जना, सैद्धान्तिक परीक्षामा अनुपस्थित १ हजार ३ सय २०, प्रयोगात्मक परीक्षामा अनुपस्थित १ हजार ३८, ३ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ। २ सय १६ को कपी क्यान्सिल र ७ हजार ६ सय ४ ड्रप आउट रहेको पनिकाले जनाएको छ।

परीक्षा नियन्त्रक रेग्मीले नियमिततर्फ ४ लाख ८३ हजार ९ सय ६७ जनाले फाराम भरेका मध्ये ११ हजार ८ सय २५ जना अयोग्य र १० हजार ६ जना अनुपस्थित रहेको जानकारी दिनुभयो।

उहाँले गत वर्ष ‘डी’ र ‘ई’ तह ल्याउने विद्यार्थीका लागि ग्रेड वृद्धि गर्न पुनः परीक्षा दिने व्यवस्था गरेकामा यो वर्ष ‘सी’, ‘डी’ प्लस, ‘डी’ र ‘ई’ ग्रेड ल्याउनेलाई स्तरवृद्धि गर्न पुनः परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिनुभयो।

पनिकाले प्रदेश संरचनाअनुसार परीक्षाफल प्रकाशन गरेको छ। जसअनुसार प्रदेश नम्बर १ मा ७४ हजार ७ सय ७७, प्रदेश नम्बर २ मा ६२ हजार ४ सय ७८, प्रदेश नम्बर ३ मा १ लाख ५ हजार १८, प्रदेश नम्बर ४ मा २३ हजार ६ सय ७४, प्रदेश नम्बर ५ मा ७२ हजार ९ सय ३२, प्रदेश नम्बर ६ मा ३३ हजार १ सय ९४ र प्रदेश नम्बर ७ मा ४९ हजार ३ सय २८ परीक्षार्थी सहभागी भएका थिए।

२०७३ सालको पुरक ग्रेड वृद्धि परीक्षा साउन १९ देखि २६ गतेसम्म हुनेछ। ‘सि’ देखि ‘इ’ ग्रेड ल्याउन विद्यार्थीले आफूलाई चित्त नबुझेको आठैवटा विषयमासमेत परीक्षा दिन पाउँनेछन्।

लेटर गे्रडिङ परीक्षा विशेषज्ञ गणेशबहादुर सिंहले ‘सि’ ग्रेड ल्याउने भन्दा ‘ए’ ग्रेड ल्याउने विद्यार्थीलाईसमेत स्तरवृद्धिको अवसर दिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो–‘पुनः परीक्षा दिँदा सबैलाई अवसर दिनुपर्छ, तोकेर यो श्रेणीलाई मात्र भन्न मिल्दैन। पनिकाले स्तरवृद्धि गर्न सबै तहका लागि अवसर दिनुपर्ने योजना अघि बढाउन आवश्यक रहेको उहाँको धारणा थियो।

परीक्षा गएको चैत ३ देखि १४ सम्म परीक्षा सञ्चालन भएको थियो। गत वर्ष एसएलसी परीक्षाको नाम परिवर्तन गरेर कक्षा १० को अन्तिम परीक्षालाई एसईई नामाकरण गरिएको हो। सोहीअनुसार ग्रेडिङ प्रणालीअनुसार नै परीक्षाफल प्रकाशित गरेको हो।
परीक्षा समितिका अध्यक्ष एवं शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले व्यवस्थित रूपमा परीक्षाफल प्रकाशित भएको जानकारी दिनुभयो। ‘हामी आगामी वर्ष थप व्यवस्थित बनाउने तयारीमा छौं’ –उहाँले भन्नुभयो।

पनिकाले प्राविधिक धारतर्फको परीक्षाफल केही दिनमा प्रकाशित गर्ने तयारी गरेको छ। ‘हिजो भएको परीक्षाफल साधारण धारतर्फको मात्रै हो, प्राविधिकको केही दिनमा प्रकाशित गर्नेछौं’ –परीक्षा नियन्त्रक रेग्मीले भन्नुभयो।

प्राविधिक धारतर्फका ३ हजार ६ सय ५७ परीक्षार्थी सम्मिलित छन्। गत वर्षको परीक्षामा ग्रेडिङ उल्लेख गरी परीक्षाफल प्रकाशित गरेकोमा यो वर्ष जीपीए मात्र उल्लेख गरेको छ। विद्यार्थीलेले आफूले कुन ग्रेड ल्याए भन्ने विषय भने लब्धाङकपत्र हेरेर मात्र जानकारी हुनेछ।

यो वर्षबाट विद्यार्थीको लब्धाङपत्र परीक्षा नियन्त्रण कार्यालयले नभई राष्ट्रिय परीक्षा बोर्ड उल्लेख हुनेछ। परीक्षा नियन्त्रक रेग्मीले यस वर्षबाट नतिजा प्रकाशन बोर्डको नामबाट हुने र परीक्षार्थीलाई बोर्डकै नामबाट ग्रेडसिट र प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था भएको जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्