अटो बजारमा तीव्र गिरावट



 

रोविन पौडेल, काठमाडौं
नेपाल राष्ट्र बैंकले अटो लोनमा कडाई गरेसँगै अटो मार्केट ६० देखि ७० प्रतिशत तल गएको अटो व्यवसायीले बताएका छन्। गत फागुनमा केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै अटो लोनको सीमा ५० प्रतिशतमा कायम गरेसँगै अटो व्यवसाय ओरालो लागेको हो।

राष्ट्र बैंकले तरलता अभाव रहेको र अटो मोबाइल क्षेत्र अनुत्पादक भएको भन्दै अटो लोन प्रवाहमा कडाई गरेकाले बजार तल झरेको अटो मोबाइल एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष शेखर गोल्छाले बताउनुभयो। ‘पछिल्लो दुई महिनाको तथ्यांक हेर्ने हो भने अटो क्षेत्रको बजार ६० देखि ७० प्रतिशत तल गएको देखिन्छ।

टु ह्वीलरको आयात र बजारमा पनि उत्तिकै मात्रामा कमी भएको छ।’ नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘वर्षभरिको तथ्यांक हेर्ने हो भने अटोमोबाइल क्षेत्रको वृद्धि गत वर्षको भन्दा बढी रहेको छ। गत वर्षको यो अवधिको तुलननामा यस वर्ष ४५ प्रतिशतभन्दा बढी कार आयात भएका छन्। मोटरसाइकलमा पनि ५० प्रतिशतको हाराहारीमा छ।’

दुई–तीन महिना बिक्रीमा गिरावट आए पनि वर्षभरिको समग्र वृद्धिदर भने बढेको उहाँको भनाइ छ। ‘फागुनपछिका दुई तीन महिनालाई नगन्ने हो भने आयातमात्रै गत वर्षको तुलनामा ७० प्रतिशतले भन्दा बढी रहेको छ। यही गतिमा जाने हो भने चालू आवको अन्त्यसम्म अटोमा वृद्धिदर ५० प्रतिशतको हाराहारीमा रहने छ। यत्तिको वृद्धि ४⁄५ वर्षमा हुने वृद्धि हो। राष्ट्र बैंकले कडाई नगरेको भए हामी लक्ष्यभन्दा धेरै सफल हुने थियौं।’ उहाँले भन्नुभयो।

राष्ट्र बैंकले अटो लोनको सीमा घटाएपछि यसको सिधा प्रभाव भन्सार संकलन, रोजगारीमा पारेको उहाँको भनाइ छ। ‘राष्ट्र बैंकको कडाईसँगै भन्सार संकलन घटेको छ। वीरगन्ज भन्सारले चालू आवमा पहिलोपटक लक्ष्यअनुरुप भन्सार संकलन गर्न सकेन।’ उहाँले भन्नुभयो।

उहाँका अनुसार अटोमोबाइल क्षेत्रलाई अनुत्पादक क्षेत्र कदापि भन्न मिल्दैन किनकी मानिसको हरेक क्रियाकलापमा यस क्षेत्रसँग जोडिएको हुन्छ। कृषि, व्यापार, सेवा सबैतिर यसको महत्त्व उच्च छ। साथै यस क्षेत्रले सरकारलाई अर्बाैंको राजस्व बुझाएको छ, लाखौंले रोजगारी पाएका छन्। ‘विश्वले उत्पादक क्षेत्र मानेको अटो बजार नेपालमा चाहीँ कसरी अनुत्पादक बन्यो ?’ उहाँको प्रश्न थियो। मोबिलिटी बढाउनुपर्ने बेलामा अटो क्षेत्रमा लगानीका लागि बञ्चित गर्नु उचित नभएको उहाँको धारण छ।

कडाईले समग्र अर्थतन्त्रलाई प्रभाव पारेकाले खुकुलो बनाउन पहल गरिरहेको उहाँले जानकारी दिनुभयो। ‘हामी राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग निरन्तर कुरा गर्दै छौं।’

‘पहलसँगै दबाब पनि दिइरहेका छौं। आगामी मौद्रिक नीतिले यसलाई पक्कै खुकुलो बनाउने छ।’ उहाँ विश्वस्त हुनुहुन्छ।‘यत्तिको वृद्धिका कारण रेमिट्यान्स रहेको छ। जोसुकैमा कार किन्ने उत्सुकता रहेकाले हाम्रो बजार पनि बढेको हो।’ राष्ट्र बैंकको अनुसार चालु आर्थिक वर्षको ६ महिनामा बैंकहरूले अटोतर्फ १ खर्ब ४२ अर्ब कर्जा लगानी गरेका थिए।

यसैबीच सवारीसाधनमा आयात घटेसँगै वीरगन्ज भन्सारका राजस्व संकलनमा कमी आएको छ। वीरगन्ज भन्सारले वैशाखमा लक्ष्यभन्दा ८० करोड २५ लाख रुपियाँ कम राजस्व संकलन गरेको छ। सामान्य अवस्थामा मासिक कम्तिमा १ हजार थान गाडी भित्रिने गरेकोमा अहिले ८०० पनि आएको छैन।

वैशाखको लागि ९ अर्ब ७ करोड २६ लाख रुपियाँ राजस्व लक्ष्य रहेकोमा कार्यालयले ८ अर्ब २७ करोड १ लाख रुपियाँमात्र संकलन गरेको हो।

प्रतिक्रिया दिनुहोस्