पेट्रोलियम पाइपलाइनको काम अगाडि बढ्यो



 

दीपेन्द्र थापा, काठमाडौं
भारतीय आयल कर्पोरेसन (आईओसी) ले अनुदानमा बनाइ दिन लागेका रक्सौलदेखि अमलेखगन्जसम्मको पेट्रोलियम पाइपलाइन पूर्वाधार निर्माणको पहिलो चरणको काम शुरु भएको छ। भारतबाट पेट्रोलियम पदार्थ सहज आपूर्ति गर्नको लागि रक्सौलदेखि अमलेखगन्जसम्म ३८ किलोमिटर लामो रहने उक्त पाइपलाइन भारतीय आयल कर्पाेरेसनले निर्माण गरिदिन लागेको हो।

नेपाल समाचारपत्रसँग कुरा गर्दै नेपाल आयल निगमका उपकार्यकारी र्निदेशक तथा रक्सौल अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना प्रमुख सुशील भट्टराईले भन्नुभयो–‘सबै कागजी प्रक्रिया तयार भएर काम अगाडि बढिरहेको छ। सडक विभागसँग कहाँ कसरी कुन रुटमा पाइप बिच्छाउने भनेर सहमति भइसकेको छ।’ कुल २ अर्ब ७५ करोड भारतीय रुपियाँमा परियोजना निर्माण हुन लागेको हो। त्यसमध्ये आईओसीको २ अर्ब र नेपालको ७५ करोड भारतीय रुपियाँ खर्च हुने छ।

निगमले वातावरण प्रभाव मूल्यांकन (ईआईए) को लागि विज्ञ नियुक्त गरेर काम थालिसकेको छ। निगमले ईआईएका लागि प्लान एट प्रालिलाई परामर्शदातामा नियुक्त गरेर आयोजना प्रभावित स्थानीयसँग रायसुझाव माग्ने काम भइरहेको निगमले जानकारी दिएको छ।

आयोजना नेपालमा ३७ किलोमिटर र भारतको करिब १ किमी भुभागमा पर्नेछ। निर्माण सामग्री, कामदारको सुरक्षाको प्रबन्ध निगमले नै मिलाउनु पर्नेछ। परियोजना प्रमुख भट्टराईले भन्नुभयो– ‘हामीले पाइपलाइन निर्माणको लागि वातावरण तयार गर्ने छौं त्यसपछि आइओसीले निर्माण कार्य थाल्ने छ।’

कुन निर्माण सामग्री कति मात्रमा लाग्ने हो सोको विवरण निगमले पाइसकेको छ। भन्सार छुटको व्यवस्था मिलाउन निगमले पठाएको फाइल आपूर्ति हुँदै अर्थ मन्त्रालय पुगेको छ। पूर्वाधार निर्माणको लागि वातावरण तयार भइरहेको आपूर्ति मन्त्रालयका प्रवत्ता सूर्यप्रसाद श्रेष्ठले बताउनुभयो। भन्सार छुटको सहमति दिएकपछि कामले गति लिने श्रेष्ठको दाबी छ। पाइपलाइनबाट प्रतिघण्टा १९१ किलोलिटर पेट्रोलियमे रक्सौलबाट अमलेखगन्जसम्म आउने छ। पाइपलाइन दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ।

पाइपलाइन वीरगन्ज वाइपास रोड हुँदै अमलेखगन्जसम्म जमिनमुनि पाइपलाइन बिच्छ्याइने छ। यस क्षेत्रभित्र पर्सा राष्ट्रिय निकुन्जको समेत केही भाग पर्नेछ। आयोजना वीरगन्ज महानगरको १४, १५, १६, २१ वडाका अतिरिक्त परावनीपुर गाउँपालिकाको ३ र ४ वडा, सिमरा उपमहानगरपालिकाको १, २, ७, ९, २१, २२ र २३ नम्बर वडा भएर अमलेखगन्जसम्म आइपुग्नेछ।। सन् २०१५ को अगस्ट २४ मा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच सो परियोजना निर्माण गर्ने सहमति भएको थियो। अमलेखगन्जमा भण्डारण क्षमता बढाने, अग्नी नियन्त्रक, टं्याकर लोड अनलोड गृह, रिसाकिलिङ प्रोयोगशाला, सुविधा सम्पन्न कार्यालय निर्माण हुने निगमले जनाएको छ। जसका लागि निगमले सरकारसँग थप ३३ दशमलब ६ हेक्टर जग्गा माग गरिरहेको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्