दरौंदी पूरै सुकाएर विद्युत्



 

सन्तोष अधिकारी, गोरखा
६ मेगावाट क्षमताको जलविद्युत् आयोजना दरौंदी कालिका ‘ए’ ले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनविपरीत खोला सुकाएर विद्युत् उत्पादन गरेको छ। तल्लो क्षेत्रमा बस्ने जीवजन्तु एवम् जलचरलाई असर नपर्ने गरी जलविद्युत् उत्पादन गर्नुपर्ने ऐनमा भए पनि दरौंदी कालिका हाइड्रोपावरले खोलाको पूरै पानी सुकाएर विद्युत् उत्पादन गर्दै आएको छ।

वातावरण संरक्षण ऐन २०५३ र वातावरण संरक्षण नियमावली २०५४ मा जलविद्युत् आयोजनाको बाँध रहेको स्थानबाट तल्लो क्षेत्रमा निकुञ्ज, संरक्षित क्षेत्र, घाट आदी रहेमा २५ प्रतिशत पानी नदीमा नियमित बग्न दिनुपर्ने उल्लेख छ। त्यस्तै अन्य साधारण क्षेत्रमा भने १० प्रतिशत पानी अनिवार्य नदीमा बग्न दिने व्यवस्था भए पनि त्यहाँ उक्त कुराको पालना भएको छैन। दरौंदी कालिका हाइड्रोपावरको बाँध क्षेत्र झ्याल्ला फाँटदेखि आयोजनाको पावर हाउस रहेको ठाउँ चनौटेसम्म १० प्रतिशत पनि पानी छोडिएको छैन।

‘हरेक आयोजनाले कम्तिमा पनि १० प्रतिशत बाँधबाट तल बग्ने गरी छोड्नुपर्ने हुन्छ,’ नेपाल विद्युत प्राधिकरण गोरखा वितरण शाखाका प्रमुख अमृत अधिकारीले भन्नुभयो–‘सबैले ऐनको पालना गर्नैपर्छ। बाँधभन्दा तल जलचर प्राणी, चराचुरु·ीलाई असर गर्ने गरी काम गर्न नियमले दिँदैन।’

उता कालिका हाइड्रोपावरका इन्जिनियरले भने बाँधभन्दा अलि तल गएपछि दरौंदी नदीमा झ्याल्ला खोला मिसिने भएकाले त्यसो गरेको बताउँछन्। ‘हाम्रो बाँधभन्दा अलि तल झ्याल्ला खोला छ त्यसको पानीले कभर गर्छ भनेर त्यसो गरिएको हो,’ कालिका पावर कम्पनीका इन्जिनियर कृष्णबहादुर खड्काले भन्नुभयो– ‘छोड्नुपर्ने १० प्रतिशत हो त्यहाँ केही पानी माथिबाट पनि छोडिएको छ। तल अरू पानी मिसिन्छ खासै असर गर्दैन।’ इन्जिनियरले यस्तो भने पनि आयोजनाको बाँधदेखि तलको क्षेत्रमा पानीको प्रतिशत शून्य रहेको छ। पानी सुकेपछि नदीमा जलचर प्राणी केही नरहेको स्थानीय बताउँछन्।

प्रतिक्रिया दिनुहोस्