राजपाले मानेन



 

काठमाडौं, (नेस)
सरकारले प्रदेश–२ को स्थानीय तह निर्वाचन सार्ने निर्णय गरे पनि राष्ट्रिय जनता पार्टीले मधेसको समस्या समाधान नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिने भएको छ।

सरकार र राजपाका नेताहरूबीच बिहीबार भएको छलफलमा राजपाका नेताहरूले आफूहरूले उठाउँदै आएको माग सम्बोधन भए मात्रै आन्दोलन स्थगित गर्ने सर्त राखेका थिए। विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म चुनावमा सहभागी हुन नसक्ने अडान राजपाले राखेको भए पनि सरकारले एकतर्फी रुपमा २ नम्बर प्रदेशको निर्वाचन सारेको आरोप राजपाले लगाएको छ।
राजपाका नेता राजेन्द्र महतोले २ नम्बर प्रदेशको चुनाव सार्दैमा आन्दोलन नरोकिने बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले उठाउँदै आएका सबै मुद्दा सम्बोधन नभएसम्म आन्दोलन रोकिँदैन।’

राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले आन्दोलनका बारेमा धारणा सार्वजनिक गर्न पार्टीको बैठक आज शुक्रबारका लागि बोलाउनुभएको छ।
सरकारसँगको बैठकपछि राजपाका नेताहरू महेन्द्र राय यादव र शरद्सिंह भण्डारीले सरकारले २ नम्बर प्रदेशको निर्वाचन सारेको र वार्ताबाट समाधान खोजेकाले केही दिन आन्दोलन स्थगित गर्नुपर्ने धारणा राखेका थिए।

उता महतोलगायतका नेताले आन्दोलन जारी राख्नुपर्ने अडान राखेका कारण समस्या बढ्दै गएको बैठकमा सहभागी एक नेताले बताए। राजपाका केही नेताले २ नम्बर प्रदेशको मात्रै निर्वाचन सारेर हुँदैन ५ नम्बर प्रदेशको पनि चुनाव सार्नुपर्ने अडान नेताहरूसँग राखेपछि राजपाले आजमात्रै निर्णय गर्ने भएको छ।
राजपाका प्रवक्ता कृष्ण सिंहले सरकारको बिहीबारको निर्णयले आन्दोलन नरोकिने जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘हामीले उठाउँदै आएको माग सम्बोधन भएको छैन त्यस कारण आन्दोलन रोकिँदैन।

प्रतिक्रिया दिनुहोस्