कानुन हातमा लिँदै राजपाका नेता–कार्यकर्ता



 

कृष्णउदास खनाल, वीरगन्ज
संविधान संशोधनबिना सरकारले जबरजस्ती स्थानीय तहको निर्वाचन गर्न लागेको भन्दै त्यसको विरोधमा आन्दोलन थालेको राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरूले कानुन हातमा लिने प्रयास गरेका छन्।

उनीहरूले जबरजस्ती यात्रु ओसारेको भन्दै एक जना मधेसी मूलका युवकलाई नै बिहीबार कान समातेर उठबस गर्न लगाएका छन्। बन्द हड्तालका बेला भाडा असुलेर यात्रु ओसारेको भन्दै बिहीबार बिहान वीरगन्जमा आन्दोलनकारीहरूले एक जना मोटरसाइकल चालकलाई निर्घात रूपले कुटपिट गरेका छन्। प्रति व्याक्ति पाँच सय रुपियाँ भाडा लिएर वीरगन्जबाट सिमरामा मोटरसाइकलमा यात्रु ओसारेको भन्दै आन्दोलनकारीहरूले घण्टाघर चोकमा ती मोटरसाइकल चालकलाई निर्घात रूपमा कुटपिट कान समातेर उठबस गराएका छन्। यद्यपि ती युवकले भने आफूले अलपत्र परेको व्यक्तिको उद्धार गरेको जिकिर गरेका छन्।

सार्वजनिक रूपमा ती युवकमाथि भएको दुव्र्यवहारको नागरिक समाज र बौद्धिक व्यक्तिहरूले विरोध जनाएका छन्। सामाजिक सञ्जालमार्फत यस्तो कदम राजपाको गलत भएको र बरु ती युवकलाई प्रहरीको जिम्मा लगाउनुपर्नेमा सुझावसमेत दिएका थिए। करिब २० किलोमिटरको दूरीमा रहेको वीरगन्ज सिमरा सडकखण्डमा मधेस आन्दोलनका क्रममा यात्रु ओसार्ने युवाहरूको पेसा नै बनेको छ। उनीहरूले प्रति व्यक्ति २ सयसम्म उठाउने गरेका छन्। दिनभरमा २ हजारदेखि ५ हजारसम्म यसरी युवाहरुले यात्रुसँग रकम लिई कमाउने गरेको पाइएको छ।

यसैबीच संविधान संशोधनबिना सरकारले जबरजस्ती स्थानीय तहको निर्वाचन गर्न लागेको भन्दै त्यसको विरोधमा आन्दोलन थालेको राष्ट्रिय जनता पार्टीले मधेस, थरुहट र लिम्बुवान क्षेत्रमा आह्वान गरेको चारदिने बन्दको तेस्रो दिन बिहीबार पनि राजपाका कार्यकर्ताहरू बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए। वीरगन्जको घण्टाघर, पावरहाउस चोक, गण्डक चोक, बाइपासको नगवा, बाराको कलैया, परवानीपुर, जितपुर, फेटा, प्रसौनीलगायतका स्थानमा बिहीबार पनि बिहानैदेखि राजपाका कार्यकर्ताले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए।

आन्दोलनकारीको प्रदर्शनका कारण वीरगन्जको मेनरोडमा रहेका पसलहरू तेस्रो दिन पनि बन्द रहेका छन्। यस्तै वीरगन्जका सामुदायिक तथा निजी विद्यालय र कलेजहरू पनि खुलेका थिएनन् भने वीरगन्जमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले लामो दूरीका भाडाका सवारीसाधन चल्न दिएका थिएनन्। तर मोटरसाइकल, इरिक्सा, रिक्सा र टयाम्पु भने निर्वाध रुपमा चलेका थिए। सरकार र राजपाका बीचमा असार १४ को चुनाव असोज २ मा सार्ने सहमति काठमाडौंमा भएलगत्तै वीरगन्जको जनजीवन दिउँसोबाट सामान्य भने भएको छ।

प्रतिक्रिया दिनुहोस्