यमबुद्धको पागलपन भिडियोमा



 

लोकप्रिय र्यापर यमबुद्धको भौतिक शरीर यो संसारमा नरहे पनि उनले पछिल्लोपटक गाएको एउटा गीत सार्वजनिक भएको छ। आफ्ना शुभचिन्तक र आफन्तलाई दुःखी बनाउँदै केही महिनाअघि लन्डनमा आत्महत्या गरेका उनले निधनअघि गाएको पागलपन बोलको गीत म्युजिक भिडियोसहित केहीअघि सार्वजनिक गरिएको हो।

सो गीत म्युजिक भिडियोसहित उनको जन्मदिनकै अवसर पारेर सार्वजनिक गरिएको हो। पागलपन बोलको यो गीतलाई नायक तथा निर्माता रेश मरहठ्ठाले निर्माण गरेका हुन्। अभिनेता मरहठ्ठा यमबुद्धका बहिनीज्वाइँ हुन्। यमबुद्धकी बहिनी अस्मी अधिकारी र रेशबीच २०७१ सालमा इन्गेजमेन्ट भएको थियो। म्युजिक भिडियोमा रेशले नै अभिनय गरेका छन्। रेशसँगै म्युजिक भिडियोमा नायिका प्रियंका कार्की र असिमा अर्यालले समेत अभिनय गरेका छन्। भिडियोको निर्देशन दिनेशजंग रानाले गरेका हुन्। सार्वजनिक गीतमा संगीत शैलेश श्रेष्ठको रहको छ भने भिडियोको छायांकन राजेन्द्र समनले गरेका छन्। भिडियो अमेरिकामा छायांकन गरिएको हो।

नेपाली गीत–संगीतको क्षेत्रमा बिल्कुलै फरक विधालाई स्थापित गराई यमबुद्धले युवा पुस्ता माझ हिपहप र र्याप गीत–संगीतलाई चिनाएका थिए। नेपालमा र्याप ब्याटललाई स्थापित गराउने प्रमुख श्रेय उनलाई नै जाने गर्दछ। सन् २००९ मा उनले गाएको साथी बोलको गीतले नै उनलाई युवा माझ पहिलोपटक चिनाएको हो। उनी र्याप गीत–संगीतमार्फत् युवामाझ लोकप्रिय थिए। २०४४ सालमा जन्मेका यमबुद्धको खास नाम अनिल अधिकारी हो। उनको निधन २०७३ माघ १ गते लन्डनमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्