आन्दोलनले निस्सासिंदै मधेस



 

कृष्णउदास खनाल, वीरगन्ज
२०६३ सालमा जनआन्दोलन भएको करिब ९ महिनापछि त्यही सालको पुस महिनाबाट मधसमा अधिकारका लागि भएको आन्दोलनले अझै स्थिरता पाउन नसक्दा मधेसका नागरिकहरू निस्सासिन थालेका छन्।

लगातार दश वर्षसम्म भइरहेको अधिकारको आन्दोलनका कारण तराई मधसको जनजीवनसहित दैनिकी पनि कष्टकर हुन थालेपछि स्थानीयहरूमा राजनीतिप्रति वितृष्णासमेत पैदा हुन थालेको छ। अधिकारका लागि आन्दोलन हुनु स्वभाविक भए पनि लामो समयसम्म आन्दोलन भइरहँदा यसले समग्र मधेसलाई नै नराम्रोसंग क्षति पुर्याएको विश्लेषण नागरिक वृत्तमा हुन थालेको छ। पर्साको साबिकको लालपर्साका स्थानीयवासी जटाशंकर यादवले लगातारको आन्दोलनको बालबच्चाको भविष्य चौपट भएको भन्दै चिन्ता जनाए।

स्थानीय तहको चुनावको विषयमा भइरहेको मधेसी दलहरूको नीतिप्रति उनी सन्तुष्ट छैनन्। उनी आन्दोलन बाहेकका जुनसुकै प्रकारका नीति लिए आफूहरू सहयोग गर्न तयार रहेको बताए। चुनाव गोप्य मतदान भएका कारण आफूले आफ्नो मन पर्ने व्यक्तिलाई छान्ने र त्यो अवस्था सृजना हुनुपर्ने बताए।खास गरी पछिल्लो समय राजपाले चुनाव बिथोल्नका लागि आन्दोलनका कार्यक्रम घोषणासहित मंगलबार मधेस बन्दको आह्वान गर्दा जनजीवन प्रभावित पनि भएको छ।

महिनामा १० दिन जति कुनै न कुनै बाहनामा बन्दका शृंखला बढेपछि आफूले आफ्नो छोरा र छोरीलाई पठाउनका लागि काठमाडौं पठाउन बाध्य भएको वीरगन्ज मुर्लीका हामिक मियाँले बताए।उनले पढाउने वातावरण वीरगन्जमा नदेखिएको भन्दै चिन्ता गरे। अधिकारको नाउँमा हुने आन्दोलनबाट स्वयम् मधेसवादी दलका कार्यकर्ताहरूसमेत निरास भए पनि उनीहरू बाहिर भन्न सक्ने अवस्थामा नरहेको पाइएको छ।

चुनावको तयारीमा रहेका मधेसवादी दल, राजपाका स्वमय् कार्यकर्ता र पर्साका आम नागरिकहरू पछिल्लो राजपाको निर्णयसंगै बिलखबन्धनमा परेका छन्। राजपाले चुनावमा भाग नलिने २० वर्षपछि भोट हाल्ने मधेसको सपना अधुरै रहन्छ कि भन्नेमा चिन्तासमेत जनाएका छन्। मंगलबार आह्वान गरिएको मधेस बन्दको प्रभावसमेत वीरगन्जमा परेको थियो। विद्यालय, यातयात ठप्प हँुदा सबैमा चिन्ता छाएको छ। लगातारको बन्द र हड्ताल तथा आन्दोलनले मधेस निकै पछाडि परेको यहाँका नागरिकहरूकै बुझाइ छ।

प्रतिक्रिया दिनुहोस्