सम्भावना खोज्दै निर्वाचित जनप्रतिनिधि



 

दीपेन्द्र शर्मा, जाजरकोट

बैशाख ३१ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु आफूले जितेको क्षेत्रको विकासका लागि सम्भावना खोज्न थालेका छन। चुनावको बेला भोट माग्दा मतदातासँग गरेका प्रतिबद्धताअनुसार गाउँ–बस्तीहरुमा स्रोत, अवसर र सम्भावनाको उनीहरु खोजी गरिरहेका हुन्। जाजरकोट जिल्लाको सबैभन्दा बढी विकट गाउँपालिका बारेकोट गाउँपालिकामा अहिलेसम्म पनि यातायातको सञ्जालले छुन सकेको छैन।

गाउँपालिकाको समग्र विकासका लागि विभिन्न पक्षसँग सामूहिक अन्तरक्रिया र छलफल गरेर सुझाव लिने गरेको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए। गाउँपालिकाको भूगोलको आवश्यकताका आधारमा अघि बढेर समस्याको पहिचान गर्दै गाउँपालिकामा भएको योग्य जनशक्तिको प्रयोग गरेर गाउँपालिकाको गुरूयोजना निर्माण गर्न लागिएको शाहले बताए। निर्वाचित भएदेखि नयाँ काम केही नभए पनि बारेकोटको विकासमा लागिपरेको शाहको भनाइ छ। ‘हामीले गाउँपालिका विकासका लागि यो र त्यो पार्टी नभनी काम गर्छौं, चुनावका बेला हामी जनप्रतिनिधीहरु विभिन्न पार्टी थियौं तर आज सबैभन्दा बढी जनमत दिएर पठाएपछि हामी एक पार्टीको नभई समग्र बारेकोट गाउँपालिका बस्ने सबै जनताका प्रतिनिधि भएका छौं, त्यसैले हामीले कुनै विमति नराखी जनताको काम गर्नुपर्छ’ –शाहले भने। बारेकोट गाउँपालिकालाई आफ्नो कार्यकालमा जाजरकोटकै नमुना गाउँपालिका बनाउने अध्यक्ष शाहले बताए।

 

कम्तीमा एक आर्थिक वर्षमा एक वडामा एक नमुना काम गर्ने तथा गाउँपालिकास्तरमा पनि प्रत्येक आर्थिक वर्षमा एक नमुना काम गरिने शाहको भनाइ छ। गाउँपालिकामा नेपाल सरकारबाट प्राप्त २६ करोड रकमलाई जनताले अनुभूति गर्ने खालका योजना छनोट गरेर काम शुरु गर्ने शाहले बताए। नेपाल सरकारको नीतिसँग नबाझिने गरी गाउँपालिकास्तरमा काम कारबाही अगाडि बढाइने उनले बताए। गाउँपालिकाको विकासका लागि स्थानीय स्रोतको परिचालन र प्राकृतिक स्रोतहरुको उचित सदुपयोग गरी यहाँका जनताको रोजगारी र विकासप्रतिको सपनालाई पूरा गराउने आफ्नो लक्ष्य रहेको उनले बताए।

रेडपाण्डाको संरक्षण गरी पर्यटक बढाउने, फलामलगायतका खनिजहरुको उत्खन्न तथा संरक्षण गरी यहाँको जनताको आयस्तर वृद्धि गर्ने शाहको योजना छ। कर्मचारीलाई चालू आवको बजेटको कामको प्रगति निकाल्न तथा जनप्रतिनिधीहरुले यसको अनुगमन मूल्यांकनको पाटो हेर्ने कार्य विभाजन गरिएको शाहले जानकारी दिए।

चुनावको बेलाको प्रतिबद्धता पूरा गर्न महेन्द्र मात्र होइन जाजरकोटका सबै जनप्रतिनिधिहरु यतिबेला जनताको घरदैलोमा पुगिरहेका छन। त्रिवेणी नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलको पहिलो प्राथमिकता भनेको सवै वडामा सञ्चार सुविधा पुर्याउनुरहेको छ। रुकुम र डोल्पा जिल्लासँग जोडिएको नगरपालिकामा सबैबभन्दा पहिला सञ्चारको सेवा पुर्याउने रावलले बताए। रग्दा र भगवतीबीचको अग्लो डाँडामा उपयुक्त स्थानको छनोट गरेर स्काई, नमस्ते र एनसेलको टावर निर्माण पहल गर्ने नगर प्रमुख रावले वताए। ‘पहिला सबै जनतालाई सञ्चारको पहुँचमा पुर्याउन पहल गर्छुु, त्यसपछि नगरभित्रका अन्य समस्यामा समधान गर्न लाग्छु, अनि जनतालाई प्रत्यक्ष राहतको अनुभूति गराउँछु –नगर प्रमुख रावलले भने। राष्ट्रिय गौरवको आयोजना नलसिंह गाड जलविद्युत् आयोजनालाई समयमा सम्पन्न गर्न सरोकारवाला निकायसँग समन्वय गरेर काममा नगरका तर्फबाट सहयोग गरिने रावलले जानकारी दिए। यो आयोजनाबाट विस्थापित बस्तीको व्यवस्थापन तथा विस्थापितलाई मुआब्जा वितरण सँगसँगै लिने काम थालनीका लागी पहल गर्ने योजना रहेको नगर प्रमुख रावल बताउँछन्। आगामी ५ वर्षभित्र नगरपालिकालाई समृद्ध नगरपालिका बनाउने रावलको योजना छ।

निर्वाचित जनप्रतिनिधीहरुका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार पारेको पारिश्रमिक पदअनुसारको नभएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताएका छन्। ‘सकभर जनताको सेवा गर्न गएका जनप्रतिनिधिहरुले तलब खानुहँुदैन, कर्मचारीलाई निगरानी गर्ने जनप्रतिनिधिहरुलाई कम रकम भयो, जनप्रतिनिधिभन्दा त कर्मचारीको बढी भयो, पदअनुसारको पारिश्रमिक भएन’ –शाहले भने। सकभर जनताको काम गर्न गएका जनप्रतिनिधिहरुले पारिश्रमिक खानुहुँदैन, भए पनि कम्तीमा जिम्मेवारीअनुसारको पारिश्रमिक बनाउनुपर्ने शाहको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्