कति कमाइयो सम्पत्ति ?



प्रधानमन्त्री तथा मन्त्रीहरूले शुरूमा सम्पत्ति विवरण बुझाउने गरे पनि पदबाट हट्दा कति कमाए भनेर सार्वजनिक विवरण नदिने गर्दा यो प्रक्रिया ‘श्राद्धमा बिरालो बाँध्ने’ चलन जस्तै भएको छ।

सन्तोष खनाल, काठमाडौं
सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ। प्रत्येक आर्थिक वर्षको अन्त्यमा बुझाउनुपर्ने सम्पत्ति विवरण सार्वजनिक पद धारण गरेका सबैका लागि हो।
तर प्रधानमन्त्री र मन्त्रीहरू शुरूमा एकपटक मात्र विवरण बुझाएर उम्किने नेपालमा प्रचलन नै भएको छ। उनीहरूले ओहदामा रहँदा कति कमाए त ? यसको जवाफ भने पाइने गरेको छैन।

नेपालमा विगत लामो समयदेखि १ वर्ष पनि नपुगी सरकार हेरफेर भइरहेकाले पनि यसो गर्न सहज भइरहेको देखिन्छ। अख्तियार दुरुपयोग अनुसन्धान ऐन २०४८ को दफा ३१ (क) मा व्यवस्था भएको सम्पत्ति विवरणसम्बन्धी व्यवस्थाअनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले र यो दफा प्रारम्भ हुँदाका बखत सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले यो दफा प्रारम्भ भएको मितिले साठी दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने प्रावधान छ। छोटो अवधिका लागि मन्त्री तथा प्रधानमन्त्री हुनेहरूले सो पदमा बहाल रहँदा कमाएको सम्पत्तिको विवरण दिन नपर्ने हुँदा पदबाट हट्दा उनीहरूले कति कमाउँछन् भन्ने कुरा खुल्ने गरेको छैन।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा उहाँका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण बुझाएका थिए तर जाने बेलामा त्यसमा के फरक आयो, घट्यो वा बढ्यो भन्ने रेकर्ड कतै पनि देखिँदैन।

एक आर्थिक वर्षमा एकपटक बुझाए हुने प्रावधानले छोटो समयमै पनि कुनै मन्त्रीले गडबड गर्यो भने ऐनको व्यवस्थाअनुसार नै पनि उसलाई खासै फरक नपर्ने जस्तो देखिएको छ।

प्रचण्डअघि केपी शर्मा ओली नेतृत्वको सरकार पनि एक आर्थिक पूरै नटिक्दा मन्त्रीपरिषद्का सदस्यहरूले एकपटक शुरूमा मात्रै सम्पत्ति विवरण बुझाए। उनीहरूले कमाए कि गुमाए त्यो कतै खुल्दैन।
प्रचण्ड नेतृत्वमा सरकार गठन भएको चार महिनापछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले वहालवाला प्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो। त्यतिबेला प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष दाहालको सम्पत्तिको विषयमा टिकाटिप्पणी भइरहेको बेलामा उहाँले पत्नीको नाममा चितवन भरतपुरमा १ कठ्ठा र तीन तोला सुन मात्र सम्पत्ति रहेको विवरण देखाउनुभएको थियो। यसको बारेमा धेरैले व्यंग्यात्मक टिप्पणीसमेत गरेका थिए। प्रधानमन्त्री प्रचण्डले देखाएको सम्पत्ति पनि पैतृक रहेको सार्वजनिक विवरणमा उल्लेख थियो। अहिले उहाँको सम्पत्ति बढ्यो कि घट्यो त्यो अझै खुलेको छैन।

गरिबी निवारण मन्त्री दयाराम थानीले सुर्खेत विरेन्द्रनगरमा पैत्रिक घर सम्पत्ति रहेको, ६६ तोला सुन र तीन किलो चाँदीको भाँडा र गहगहना, विभिन्न बैंकमा २ लाख ८ हजार रकम रहेको विवरण दिनुभएको थियो।

यस्तै,उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले पत्नीको नाममा भक्तपुर कटुन्जेमा विभिन्न ३ स्थानमा गरी १ रोपनी १३ आना जग्गा, दाइजो, पेवा र उपहार गरी ६० तोला सुन, १ सय ५० तोला चाँदी, घरमा नगद १० लाख ९६ हजार ८ सय २५ रुपियाँ, पत्नीको नाममा हिमालय बैंकमा २८ लाख ३७ हजार ५ सय ९३ रुपियाँ र अनकल निधिका नाममा कृषि विकास बैंकमा २९ हजार २२ रुपियाँ रकम, पत्नी र आफ्नो नाममा २ लाख १५ हजार बराबरको सेयर, निशान गाडी र धनुषामा सगोल परिवारका नाममा एक बिघा १० कठ्ठा जमिन र विभिन्न व्यक्तिलाई १३ लाख ५० हजार ऋण दिएको विवरणमा उल्लेख गरिएको थियो।

अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग रोल्पामा दुईतले नेपाली शैलीको घर र १ तले गोठ, ८ रोपनी सुख्खा पाखो जमिन, एभरस्ट बैंकमा ८० हजार रहेको सम्पत्ति विवरण त्यतिबेला बुझाइएको थियो। त्यतिबेलाका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले पत्नि विना महतको नाममा काठमाडौंमा साढे दुई तलाको घर, नुवाकोटमा ५० रोपनी खेतबारी, विना महतको नाममा काठमाडौंको चपलीमा २० आना, इलाममा १० रोपनी र झापाको तोपगाछीमा ५ विघा चार कठ्ठा जग्गा, सुन ३० तोला, चाँदी करिब १ हजार २ सय तोला, हिरा मोती र जवाहरतका केही गहनाहरू, सिटिजन्स बैंकमा पत्नीको नाममा ४२ लाख ६१ हजार, हिमालय बैंकमा १ लाख र नागरिक लगानी कोषमा साढे ५ लाख रकम, सिटिजन्स बैंकको संस्थापक सेयरका रुपमा ९७ हजार ५ सय ५० कित्ता, कुमारी बैंकमा १ सय कित्ता, सिद्धार्थ बैंकमा २ हजार कित्ता र एक्सन एजुकेसनमा १५ हजार कित्ता सेयर पत्नीको नाममा र महतको नाममा विभिन्न शैक्षिक संस्थामा गरी २२ हजार ७ सय ५० कित्ता सेयर र पत्नीको नाममा ९ लाख ५० हजारको सेन्ट्रो कार रहेको त्यतिबेला उल्लेख गरिएको थियो।
त्यसबेलाका स्वास्थ्य मन्त्री गगन थापासँग आफ्नो नाममा जम्मा ९ हजार रकम, आमाको नाममा काठमाडौं ज्ञानेश्वरमा दुई तले र साढेदुई तलाको दुई वटा घर, बाबुको नाममा सोलुखुम्बुमा २२ रोपनी ८ आना जग्गा, इटहरीमा १२ धुर जग्गा र हजुरबुबाका नाममा रहेको सगोल जग्गा सोलुखुम्बुमै ७८ रोपनी ८ आना जमिन, पत्नि अन्जनाको नाममा १६ तोला सुन, २ सय तोला चाँदी, हीराको केही गहना, २० लाख १५ हजार रकम स्ट्यान्डर्ड चार्टड बैंक तथा नबिल बैंकमा र पत्नी, छोरी गार्गी, बाबु र आफ्नो नाममा विभिन्न ५५ कम्पनीमा ७३ लाख १३ हजार १ सय रुपियाँबराबरको सेयर रहेको विवरणमा उल्लेख गरिएको थियो।
शहरी विकास मन्त्री अर्जुन नरसिहं केसीको काठमाडौं गंोंगबुमा १५ आना, ललितपुरको सैंबुमा ८ आना २ पैसा १ दाम, नुवाकोटको विभिन्न ठाउँमा ६० रोपनी, सुन ५० तोला, चाँदी ५ सय २५ तोला, नगद विभिन्न बैंकमा गरेर १ करोड रुपियाँभन्दा माथि, गाडी ३१ लाख ५० हजार रुपियाँबराबरको रहेको विवरण पेश गरीएको थियो।

भौतिक योजना तथा निमार्ण मन्त्री रमेश लेखकको पनि जग्गा विभिन्न ठाउँमा गरेर २० रोपनीमाथि, सुन ३० तोला, चाँदी ५० तोला, नगद ५ लाख ५० हजार रुपियाँ रहेको मन्त्री हुँदाको सम्पत्ति विवरण थियो। भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले काठमाडौं, चितवन र नवलपरासीको विभिन्न ठाउँमा करोडौं मूल्यबराबरको २३ कित्ता जग्गा, सुन १ सय तोला, चाँदी २ केजी, नगद ३४ लाख ६३ हजार, शेयर बैंक, जलविद्युत कम्पनी, निमार्ण कम्पनीलगायतको लगभग ३० लाख कित्तारहेको विवरण पेश गर्नुभएको थियो।

त्यतिबेलाका उर्जा मन्त्री जनार्दन शर्माको मुसीकोटमा केही पैत्रिक सम्पत्ति नगद १० लाख रुपैयाँ, गहना सुन २ तोला, चाँदी २० तोला, सेयर पिपुल्स हाइड्रो सहकारीको ५ हजार कित्ता र आफ्नो सेयरमा १० वटा गाई पालेको र घरमा रहेका ल्यापटपसहितको उपकरणसमेत आफ्नो विवरणमा उल्लेख गर्नुभएको थियो । उहाँ अहिले गृहमन्त्री हुनुभएको छ।

श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले काठमाडौंमा १० आना जग्गा, ताप्लेजुङमा ३१ रोपनी जग्गा, सुन ७५ तोला, चाँदी २ सय तोला र हिरा २ तोला, नगद १० लाख रुपियाँ रहको आफ्नो सम्पत्ति विवरण पेश गर्नुभएको थियो।
रक्षामन्त्री बालकृष्ण खाँणले सिरहा, रुपन्देही, काठमाडौं, ललितपुर लगायतमा जग्गा, १० लाख नगद, नेपालका विभिन्न १२ बैंकमा झण्डै ३० लाख, ४० तोला सुन, ६० तोला चाँदी रहेको सम्पत्ति विवरण मन्त्री हुँदा पेश गर्नुभएको थियो।
आपूर्ति मन्त्री दीपक बोहरा मन्त्री हँुदा उहासँग काठमाडौंका तीन स्थानमा घरजग्गा, काठमाडौँ र काभ्रेपलाञ्चोकका ४ ठाउँमा जग्गा, नगद १५ लाख, वैंक मौज्दात १ करोड २० लाख भन्दा बढी, १ सय २० तोला सुन, हीराः तीन सेट, चाँदीः ५ सय तोला रहेको थियो।

वाणिज्य मन्त्री रोमी गौचन थकालीले पनि काठमाडौं, मुस्ताङ र ललितपुरका विभिन्न पाँच स्थानमा घर, म्याग्दी र मुस्ताङका विभिन्न ७ स्थानमा जग्गा, नगदः झण्डै ३० लाख, ७० तोला सुन, मुगा २ थान, बहुमूल्य कण्ठी २ थान, हिरा १० थान, चाँदी ७ सय तोलालगायत रहेको सम्पत्ति विवरण मन्त्री हुँदा बुझाउनु भएको थियो। यद्यपि उहाँहरूले कति कमाउनुभयो भन्ने कुरा खोलिएको छैन।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले कानुनी प्रावधानअनुसार शुरुमा सम्पत्ति विवरण बुझाएका मन्त्रीहरूलाई आर्थिक वर्ष नसकिँदै विदा हुने अवस्था आउँदा सम्पत्ति विवरणका लागि बाध्यकारी बनाउन नसकिएको बताएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका पवक्ता दामोदर रेग्मीले नेपाल समाचारपत्रसँग कुरा गर्दै ऐनअनुसार विवरण मागिएको बताउनुभयो। ‘कानुनी व्यवस्थाअनुसार पदमा बहाल भएको ६० दिनभित्र विवरण बुझाउन हामीले भनेका छौं र सोअनुसार भएको छ। तर छोड्दाको अवस्थामा कानुनी व्यवस्था छैन,’ उहाँले भन्नुभयो, ‘कानुनी व्यवस्था नहुँदा सम्पत्ति विवरण बुझाउन बाध्य बनाउन सकिएन।’ उहाँले मन्त्री पदको हैंसियतले सम्पत्ति विवरण नबुझाए पनि सांसदले विवरण बुझाइरहेको जानकारी दिनुभयो। पहिला बुझाउनुपर्ने तर छोडेर जाँदा विवरण बुझाउनु नपर्ने भएकोले ‘सम्पत्ति विवरण’ श्राद्धमा बिरालो बाँध्ने चलन जस्तै हुन पुगेको छ।

प्रतिक्रिया दिनुहोस्