एमालेले टिकट नदिँदा स्वतन्त्र उम्मेदवार



नेपाल समाचारपत्र
बाजुरा
बाजुराका लोक देउडा गायक लालबहादुर थापाले बूढीगंगा नगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिने बताएका छन्। कलाकार थापाले सदरमुकाम मार्तडीमा पत्रकार सममेलन गरी आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। विगत २०५४ सालदेखि नेकपा एमालेको संगठित सदस्य भई काम गरे पनि एमालेले आफूलाई कहिल्यै सहयोग नगरेको आरोप कलाकार थापाको छ। ‘२७ वर्षदेखि एमालेको संगठनमा रही काम गरे पनि नेकपा एमालेले आफूलाई कुनै अवसर दिएन’ –उनले भने।

‘पार्टी शून्यतादेखि हालको उचाइसम्म कतै टहसमहस नभई विखण्डनको बेलामा समेत पार्टीको पक्षमै रही काम गरें। संकटकाल र सहजकाल नभनी निरन्तर काम गर्दै आएको छु। पार्टी हितका लागि दिलोज्यान दिएर लागिपर्दा पनि पार्टी नेतृत्व र कुनै अवसर पाइनँ, नेताहरूबाट गैरजिम्मेवार गैरमूल्यांकन मनोमानी व्यवहार मन नपरेकाले पार्टीबाट राजीनामा गरेको छु –एमाले पार्टी अध्यक्षलाई सम्बोधन गरी थापाले लेखेको राजीनामा पत्रमा उल्लेख छ।

थापाले बूढीगंगाका लागि आफूले यसअघि पनि सडक, यातायात, खानेपानी, शिक्षा क्षेत्रलगायतका क्षेत्रमा काम गर्दै आएको बताएका छन्। ‘आउँदो असार १४ गतेको स्थानीय तहमा बूढीगंगा नगरपालिकाको स्वतन्त्र उम्मेदवार उठ्नेछु मलाई सहयोग गर्नुहोला’ –कलाकार थापाले भने। ‘मलाई बूढीगंगाको मेयरमा जिताउनुभयो भने यहाँको जल, जंगलको संरक्षण संवद्र्धन, सुलभ शिक्षा र युवालाई स्वरोजगारका अवसर प्रदान गर्नेछु। प्रत्येक वडामा वडामा मोटरबाटो पुर्याउनेछु –उनले भने। त्यसै गरी राज्यबाट प्राप्त भएको बजेटको पनि भरपुर सदुपयोग गर्ने प्रण थापालेगरेका छन्।

कलाकार थापाले सेरावगर ताल, मेरी पियारी, छान्ना थलाराको सेरो, छुटी मायाजाल, हीरामोती हारलगायत दर्जनौं कर्णप्रिय लोक देउडा गाएका छन्। स्वरका धनी थापाले कलाकारिताको माध्यमबाट जिल्लाको सामाजिक सांस्कृतिक र राजनीतिक क्षेत्रमा ठूलो योगदान पुर्याएका छन्। स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषाण गर्ने उनी जिल्लाकै पहिलो उम्मेदवार हुन्।

प्रतिक्रिया दिनुहोस्