३ सय विद्यार्थीको धुलोमा बास



दीपेन्द्र शर्मा, जाजरकोट
विद्यालयमा फर्निचरको व्यवस्था नहुँदा विद्यार्थीहरू भुइँको धुलोमा बस्ने गरेका छन्। जाजरकोटको एक विद्यालयमा फर्निचर नहुँदा विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ। पढ्नका लागि बस्ने बेन्च नहँुदा कुशे गाउँपालिका–३ डाँडाभौता जाजरकोटको सरस्वती आधारभुत विद्यालयका विद्यार्थीहरू भुइँको धुलोमा बस्न बाध्य भएका हुन्। बसाइको व्यवस्थापन राम्रो नहँुदा दैनिक रूपमा विद्यार्थीको पठनपाठनमा समेत समस्या हुने गरेको छ।

विद्यालयमा भएका भवनहरू जीर्ण भएका कारण विद्यालयका भवनको छानाबाट पानी चुहिँदा भएका फर्निचरहरू कुहिन तथा गल्न थालेपछि विद्यार्थीलाई कक्षाकोठामा फर्निचरको अभाव भएको हो। विद्यालयसँग आन्तरिक आय स्रोत केही नभएकाले विद्यालयले आवश्यक पर्ने फर्निचरका सामग्री किन्न सकेको छैन। विद्यार्थीहरू कक्षाकोठामा फर्निचर नहुँदा भुइँको धुलोमा बस्न बाध्य भएका छन्।

विद्यालयमा कक्षाकोठा भए पनि भएका कक्षाकोठाहरू बस्नलायक नभएको विद्यालयका प्रधानाध्यापक जनक बोहराले बताए। कक्षाकोठामा विद्यार्थीका लागि बस्ने आवश्यक बेन्चहरू नहँुदा कहिलेकाहीं चौरमा र भुइँको धुलोमा राखेर पढाउनुपर्ने बाध्यता रहेको बोहराले बताए। बसाइको अभावमा विद्यालयमा नियमित आउने विद्यार्थीहरू पानी परेका बेलामा विद्यालयमा आउन छाडेको बोहराले जानकारी दिए। ‘विद्यालयका सबै कक्षाकोठामा विद्यार्थीहरू धुलोमा बस्ने गर्दछन्, उनीहरूलाई व्यवस्थित रूपमा बसाइ मिलाउन सकिएको छैन, विद्यालयमा विद्यार्थीलाई बस्ने फर्निचर छैन, कसरी विद्यार्थीलाई अध्यापन गराउने समस्या छ’ –बोहराले भने। भएका भवनहरू पनि जीर्ण र पानी पर्दा चुहिएर हैरान बनाउने गरेको उनको भनाइ छ। हाल विद्यालयमा करिब ३ सय विद्यार्थी बेन्च नहँुदा कक्षाकोठाको धुलोमा बस्ने गरेको बोहराले जानकारी दिए।

अभिभावकहरूलाई विद्यालयमा विद्यार्थीहरूलाई बस्ने बेन्च नहुँदा पढाउन समस्या भएकाले सबैले बस्ने व्यवस्था मिलाइदिन आग्रह गरे पनि ध्यान नदिएको प्रधानाध्यापक बोहराको भनाइ छ।

मौसम प्रतिकूल भएको बेला विद्यालय नै आउन मन नलाग्ने कक्षा आठकी छात्रा कल्पना रोकाले बताइन्। विद्यालयमा बस्नलाई बेन्च नभएकाले घाम बढी भएकाले कक्षाकोठाको धुलोमा र शीतल हुँदा खुलाचौरमा पढ्ने गरेको रोकाले बताइन्। ‘कक्षाकोठाको ढोका पल्ला छैनन्, बिदाको दिनमा गाईबाख्रा भित्र गएर दिसापिसाब गर्ने गर्छन्, अनि फोहोरले गर्दा भित्र बस्न पनि नमिल्ने भएको हुन्छ, कसरी बस्नु विनाबेन्चको कोठामा’ –रोकाले भनिन्। ‘गतिलो भवन छैनन् र भएका पनि जीर्ण छन, पानी पर्दा चुहिन्छ बस्ने ठाउँ हुँदैन, बस्ने बेन्च छैनन्, हिलाम्मे तथा फोहोर कोठामा बस्नुपरेको छ’ –रोकाको गुनासो थियो।

विद्यालयमा आउने विद्यार्थी संख्या गत वर्षभन्दा बढेर आएको तथा विद्यालयमा राम्रोसँग बस्ने बेन्चसमेत नभएकाले निकै समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर रावतले बताए। ‘पुरानो जम्मा ८ सेट मात्र बस्ने बेन्च रहेका थिए, त्यो पनि वैशाख ३१ को स्थानीय चुनावको मतदानमा प्रयोग हुँदा भाँचिएर गए, विद्यालय फर्निचरविहीन भएको छ’ –अध्यक्ष रावतले भने। विद्यार्थीहरूका लागि उपयुक्त बसाइ व्यवस्थापन गर्न निकै चुनौती भएको रावतले बताए। विद्यालयमा बसाइ राम्रो भयो भने सबै विद्यार्थीको उपस्थिति नियमितमा हुने तथा पढाइ प्रभावकारी हुने भएकाले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको अध्यक्ष रावतले बताए।
यसैबीच विद्यालयमा नियमित रूपमा खानेपानीको आपूर्ति हुन नसक्दा विद्यार्थीहरू १ घण्टा टाढा गएर पानी पिउन बाध्य भएका छन्। विनापानीको पाइप विद्यालय नजिक देखिए पनि त्यसमा पानी नआएको एक वर्ष भयो। हेर्नलाई पानीको धारा छ तर पिउनलाई त्यसमा पानी नआएको लामो समय भयो। पिउने पानी टाढा हुँदा पानी पिउन गएका अधिकांश विद्यार्थीहरू उतैबाट हराउने गरेको विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्