सबैका आँखा महानगरपालिकाकै कुर्सीमा



कृष्णउदास खनाल
वीरगन्ज
वीरगन्ज महानगर घोषणा भएको र दोस्रो चरणको स्थानीय तह निर्वाचन तयारीमा जुटिसकेका वीरगन्ज महानगरपालिकामा दलहरूलाई उम्मेदवार छान्न अहिले धौधौ भइरहेको छ।

पछिल्लो मधेस आन्दोलनको केन्द्र बनेको वीरगन्जमा स्थानीय तहको चुनाव लागिसकेको छ। दलहरू उम्मेदवार घोषणाको अन्तिम तयारीमा रहेको बेला मतदाताले समेत यस चुनावमा आफ्नो चासो बढाएका छन्।

आकांक्षीहरूको संख्या बढी भएकाले दलहरूले उम्मेदवारको नाम घोषणामा ढिलाइ गर्दा चुनाव केन्द्रित औपचारिक कार्यक्रमहरू भने भएका छैनन् यद्यपि अबको एक दुई दिनमा नै सबै दलले उम्मेदवार टुंगो लगाउने बुझिएको छ।

संभावित उम्मेदवार जनताको घरदैलोमा जान थालेका छन्। यसैमध्येका एमाले जिल्ला तहबाट मेयरको उम्मेदवारका लागि सिफारिसमध्ये सुन्दर कुर्मीले भोट माग्दै घरदैलो थालिसकेका छन्। उनी एमाले भ्रातृ संगठन राष्ट्रिय मधेसी संगठनका पर्सा अध्यक्ष हुन्। ‘यहाँबाट नेता चिरञ्जीवी आचार्य, कुर्मी र मनोज चौधरीको नाम मेयर उम्मेदवारका लागि प्रदेश समितिमा सिफारिस भएको छ’, एमाले पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहले भने। माओवादी केन्द्रले पर्सामा चुनावको जिम्मेवारी नेत्री उर्मिला अर्याललाई दिएको नेता पीएल श्रेष्ठले बताए।

पर्सा कांग्रेस जिल्लाका ११ गाउँपालिका, एउटा नगरपालिका र वीरगन्ज महानगरपालिका सबैमा उम्मेदवार छान्न व्यस्त छ। गृहकार्य अन्तिम चरणमा छ, कांग्रेस केन्द्रीय सदस्य अजय चौरसियाले भने, ‘सम्बन्धित गाउँपालिका, नगरपालिका र महानगरपालिका इकाइ समितिले सर्वसम्मत निर्णय गरेर नाम दिने, त्यहाँ विवाद भए क्षेत्रीय समितिले निर्णय गर्ने र क्षेत्रले नसके जिल्ला समितिले उम्मेदवार टुंग्याउने नीति छ।’

वीरगन्जको मेयरको उम्मेदवार पार्टी जिल्ला सभापति अजयकुमार द्विवेदीलाई बनाउनुपर्ने दबाब कार्यकर्ताबाट आएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्