प्रचण्ड र देउवाको कारण देश चंगुलमा फस्योः ज्ञवाली



अनिल खत्री, गुल्मी
नेकपा एमालेका केन्द्रीय सचिव प्रदीपकुमार ज्ञवालीले प्रचण्ड र देउवाको जालझेलका कारण देस चंगुलमा फसेको बताएका छन्। नेकपा एमाले रेसुंगा नगरपालिका गुल्मीको उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै नेता ज्ञवालीले प्रचण्डजीलाई छोरी मेयर भए पुग्यो, देउवालाई प्रधानमन्त्री चाहिएकाले जस्तो हर्कत अपनाउन पनि पछि नपरेको बताए। नेता ज्ञवालीले भने– ‘यी दुई नेताहरूको गलत मनशायका कारण पार्टी र देश चंगुलमा फस्यो।’

उनले देवी ज्ञवालीले जित्ने पक्का भएपछि सुनियोजितरूपमा मतपत्र च्यातिएको बताए। ‘चुनावकै दिनबाट खेल शुरु भएको हो,’ उनले भने– ‘बीच–बीचमा धेरै प्रयास गरेर अन्त्यमा मतपत्र च्यातियो।’ उनले एमालेको जनलहरप्रति घेराबन्दी गरिरहेका दलहरूलाई निर्वाचन आयोगले समेत साथ दिएको आरोप लगाए। तर पनि आफूहरू सधैं जनता र संघर्षको मैदानमै भएकाले त्यस्ता समस्याको डटेर समाना गर्ने उनले बताए।

नेता ज्ञवालीले पछिल्लो समय कांग्रेस, माओवादी केन्द्र र मधेसवादी दल दोस्रो चरणको चुनाव पक्षमा नरहेको स्पष्ट पारे। उनले पहिलो चरणको चुनावमा एमालेलाई पत्तासाफ पार्ने र अबिर र माला लगाए अर्को चुनाव गर्ने सत्तापक्षको योजना तुहिएको बताए। ‘अहिलेसम्म सुखद नतिजा आयो’, ज्ञवालीले भने– ‘प्रतिनिधि सभाको चुनावपछि एमालेले अत्यधिक बहुमतका साथ एकल सरकार चलाउँछ।’ उनले चुनाव गर्ने उद्देश्य नभएर नै सरकारले चुनावका मिति सारिरहेको बताए।

मध्य बर्खामा चुनाव गरेर किसानमाथि अन्याय सरकारले गरेको उनको जोड रहेको थियो। ‘गाउँ–गाउँमा बर्खाले बाटाघाटा छैनन,’ ज्ञवालीले भने– ‘मतदानमा किसान कम सहभागी भए चुनाव जित्छौं भन्ने सत्तापक्षको पूर्वाग्रही निर्णय हो।’ देशमा अहिले राष्ट्रियता जोगाउने र समाप्त पार्ने दुई शक्तिबीच लडाइँ भइरहेकाले एमालेलाई भोट दिएर देश बचाउन सबै कार्यक्रर्तालाई आग्रह गरे। मेयरमा वा वडामा कसले जित्ने र हार्नेभन्दा पनि देश नै संकटमा परेकाले जोगाउन एमालेलाई जनताको अत्यधिक बहुमत चाहिएको बताए। एमाल रेसंगा नगरकमिटीले नगरप्रमुखमा डिल्लाराज भुसाल र उपप्रमुखमा सीता भण्डारीसहित उम्मेदवारहरू सार्वजनिक गरेको छ। उक्त नगरपालिकामा रहेका १४ वडामा अध्यक्षसहित ७२ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्