महासंघ अध्यक्ष तिमल्सिनाले सम्हाले कार्यभार



नेपाल समाचारपत्र
काभ्रे
नेपाल पत्रकार महासंघ काभ्रे पलाञ्चोकको १०औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले मंगलबारबाट कार्यभार सम्हालेका छन्। निर्वतमान अध्यक्ष नारायण सापकोटाले एक कार्यक्रमका बीच निर्वाचित पदाधिकारीहरूलाई पद हस्तान्तरण गरेका थिए।

महासंघको आफ्नै कार्यालय बनेपा बुडोलमा नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका हुन्। १०औं जिल्ला अधिवेशन जेठ ६ गते बनेपामा सम्पन्न भएको थियो। अधिवेशनले मोतीराम तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। उपाध्यक्षमा रमेश न्यौपाने र राज्यलक्ष्मी श्रेष्ठ, सचिव नगेन्द्र अधिकारी, कोषाध्यक्ष कपिल कोइराला, सहसचिव मधुसूदन तिमल्सिना र राम दनुवार रहेका छन्। सदस्यहरूमा श्रीराम केसी, रोजन तामाङ, सरिता सापकोटा, देवराज केसी, सचित खड्का, रामचन्द्र अधिकारी, सम्झना हुमागाईं, सरोज अधिकारी रहेका छन्।

निवर्तमान अध्यक्ष नारायण सापकोटाले पुरानो कार्यसमितिले गर्न नसकेको काम यो कार्यसमितिले गर्न सक्छ विश्वास भएको बताए। पुरानो कार्यसमितिले सदस्यता शुद्धीकरणलाई पूर्णरूपमा कार्यान्वयन गर्न नसकेकाले नयाँ समितिले यसलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने उनले बताए। कार्यक्रममा महासघंका पूर्वअध्यक्ष भोला थापाले पत्रकारलाई नयाँ समितिले दक्ष बनाउनुपर्ने बताए।

पत्रकार महासंघका नवनिर्वाचित वर्तमान अध्यक्ष तिमल्सिनाले पहिलेका पदाधिकारीले गर्न नसकेको काम गर्न सधैं प्रतिबद्ध रहने बताए। उनले आफ्नो कार्यकालमा पत्रकार र गैरपत्रकारबीच रहेको विवाद कम गर्ने र पत्रकारलाई दक्ष बनाउन तालिमको व्यवस्था गर्ने बताए। सबै पत्रकारहरूको सहकार्य र समन्वयमा नेपाल पत्रकार महासंघलाई थप संस्थागत, व्यवसायिक र व्यवस्थित बनाउन हरपल क्रियाशील रहने बताए।

प्रतिक्रिया दिनुहोस्