तीनजना घूससहित पक्राउ



बाँके, (नेस)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगन्जबाट ३ जनालाई घूससहित नियन्त्रणमा लिएको छ।
मालपोत कार्यालयका दुई कर्मचारी र एकजना लेखनदासलाई ४ लाख ९८ हजार घूससहित रंगेहात पक्राउ गरिएको अख्तियार, कोहलपुरका शाखा अधिकृत नारायणदत्त उपाध्यायले जानकारी दिनुभयो।

नेपालगन्जको एक रस्टुरेन्टमा सोमबार राति साढे नौ बजे मालपोत कार्यालयका खरिदार नरबहादुर सारुमगर र लेखननास सर्जु थापालाई नियन्त्रणमा लिइएको हो। रेस्टुरेन्टमै रहेका मालपोतका केसी थरका सुब्बालाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ। सुब्बा केसीको साथमा पैसा नभए पनि उनी राति उक्त रेस्टुरेन्टमा किन गए भन्नेमा अख्तियारले गम्भीर शंका गरेको छ।

जग्गा बिक्री प्रयोजनका लागि निर्णय प्रमाणित माग गर्दा मालपोतका यी कर्मचारीले लामो समयदेखि झुलाएर घुस मागेको उजुरी अख्तियारमा परेको थियो।‘घुस खानाका लागि लामो समयदेखि झुलाएको निवेदन आएको थियो, त्यसैलाई आधारमा मानेर हामीले उनीहरूलाई रंगेहात समात्यौं,’ –अख्तियारका शाखा अधिकृत उपाध्यायले भन्नुभयो।

अख्तियारले नियन्त्रणमा लिइएका तीनै जनालाई मंगलबार अपरान्ह काठमाडौं पठाएको छ। यता, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले सर्जु थापा लेखनदास नरहेको जनाएको छ। एसोसिएसनका सचिव डिलबहादुर थापाले विज्ञप्ती निकालेर थापा लेखनदास नभई घर जग्गा कारोबार गर्ने⁄गराउने बिचौलिया भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्